काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले विद्युत महसुल नतिर्ने उद्योगहरुको लाइन धमाधम काट्न थालेपछि उच्च अदालत पाटनमा परेको रिटमा केही उद्योगहरुको लाइन नकाट्न अन्तरिम आदेश जारी भएको थियो । ती उद्योगहरुबाट हालसम्म ४ अर्ब ३९ लाख ९५ हजार १७२ रुपैयाँ १२ पैसा बक्यौता उठ्न बाँकी रहेको प्राधिकरणले जनाएको छ ।
रघुपती जुट मिल, विराटनगरबाट २१ करोड ८ लाख ४२ हजार रुपैयाँ, अरिहन्त मल्टीफाईवर लि. दुहवीबाट १८ करोड ६ लाख ६७ हजार रुपैयाँ, अरिहन्त पोलीप्याक लि.दुहवीबाटै ५ करोड ९५ लाख ९६ हजार रुपैयाँ, मारुती सिमेन्ट प्रालि मिर्चैयाबाट ९७ करोड ९२ लाख ५९ हजार रुपैयाँ, युनाइटेड सिमेन्ट प्रालि धादिङबाट २९ करोड ४६ लाख ६२ हजार रुपैयाँ र शिवम् सिमेन्ट हेटौंडाबाट २ अर्ब २७ करोड ८९ लाख ६५ हजार रुपैयाँ बक्यौता बाँकी रहेको प्राधिकरणले जनाएको छ ।
मंसिर मसान्तसम्म सबै ६१ वटा उद्योगहरुबाट डेडिकेटेट र ट्रंक रुट उपभोग गरे बापत कूल २२ अर्ब २४ करोड ५७ लाख ७७ हजार ५२० रुपैयाँ १२ पैसा उठ्न बाँकी रहेको प्राधिकरणले जनाएको छ ।