• मंसिर १५ २०८१, शनिबार

राष्ट्रिय क्रान्तिकारी मोर्चाको लुम्बिनी प्रदेश समिति गठन, संयोजकमा धिताल चयन

पुष ९ २०८०, सोमबार

दाङ । राष्ट्रिय क्रान्तिकारी मोर्चाको लुम्बिनी प्रदेश स्तरीय समिति गठन गरिएको छ । २०८० पुष ७ गते रुपन्देहीको जितपुरमा भएको पाँचवटा घटकहरुको संयुक्त भेलाबाट राष्ट्रिय क्रान्तिकारी मोर्चाको लुम्बिनी प्रदेश स्तरीय समिति गठन गरिएको हो ।

मोर्चाका लुम्बिनी प्रदेश संयोजक प्रमोद धिातलले एक विज्ञप्तिमार्फत् सो कुराको जानकारी दिएका हुन् । राष्ट्रियता, जनअधिकार र जनजीविकाको पक्षमा क्रियाशील रहने उद्देश्य सहित गत २०८० साल भाद्र ५ गते वामपन्थी पार्टीहरु, राजनीतिक फोरम तथा व्यक्तिहरुको संयुक्त पहलमा काठमाडौंमा भएको भेलाले केन्द्रीय स्तरमा राष्ट्रिय क्रान्तिकारी मोर्चाको निर्माण गरेको थियो । विज्ञप्तिमा धितालले आफ्ना गतिविधिहरुलाई अगाडि बढाउनका लागि मोर्चाले अवधारणा, नीति र कार्यविधि पनि निर्माण गरेको बताएका छन् ।

भेलाको उद्घाटन राष्ट्रिय क्रान्तिकारी मोर्चाका केन्द्रीय संयोजक सन्तबहादुर नेपालीले गरेका थिएभने नेकपा (मशाल)का पोलिटब्यूरो सदस्य कृष्णराज पौडेल, नेकपाका केन्द्रीय सदस्य दिलसाद अहमत खाँ, माक्र्सवादी विचार मञ्चका सचिव बिनबहादुर कुँवरले शुभकामना मन्तव्य राखेका थिए । नेकपा (मार्कसवादी पुष्पलाल)का पोलिटब्यूरो सदस्य सलमान खानको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्रतिरोध जनअधिकार आन्दोलनका संयोजक प्रमोद धितालले गरेका थिए ।

भेलाले प्रमोद धिताल संयोजक रहने गरी १३ सदस्यीय कार्यसमित चयन गरेको छ, जसको सदस्यहरुमा सलमान खान, मेघराज भट्टराई, दिपक पौडेल, दिलसाद अहमद खाँ, कृष्ण केसी, विमला सापकोटा, बि.शंकर पराजुली, खल्लु चौधरी र अमृत विक रहेकाछन् भने तीन स्थान पछि पूर्ती गर्नेगरी रिक्त राखिएको छ ।

मोर्चाको नेतृत्व चक्रीय प्रणाली अन्तर्गत हुने विज्ञप्तिमा जनाइएको छ । संयोजकको कार्यकाल ६ महिना कायम गरिएको छ । मोर्चाको अवधरणा, नीति र कार्यविधिसँग सहमत हुने जुनसुकै पार्टी, फोरम, समूह या व्यक्तिहरुलाई सहभागी गराउँदै लुम्बिनी प्रदेशका सबै जिल्लाहरुमा मोर्चाका संरचनाहरु निर्माण गर्ने निर्णय गरिएको बताइएको छ ।

नवगठित मोर्चाको पहिलो बैठकले आगामी पुष २१ गते बुटवलमा र २९ गते घोराहीमा देशको समसामयीक राजनीतिक परिस्थितिमा आधारित रही वृहत अन्तक्र्रिया कार्यक्रम गर्ने निर्णय गरेको छ ।