• मंसिर १५ २०८१, शनिबार

‘क्रस फायर’मा मारिएका बाहेकका घटनालाई गम्भीर मानवअधिकार उल्लंघनको रुपमा लिनुपर्छ : सचेतक बर्तौला

पुष ६ २०८०, शुक्रबार

काठमाडौँ । एमाले सचेतक महेश बर्तौलाले द्वन्द्वकालमा दोहोरो भीडन्त बाहेकमा हत्या भएको विषयलाई मानव अधिकारको गम्भीर उल्लंघनको रुपमा लिनुपर्ने बताएका छन् ।

शुक्रवार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै सचेतक बर्तौलाले संक्रमणकालिन न्यायसँग सम्बन्धित विधेयकलाई टुंग्याउँदै गर्दा गम्भीर मानव अधिकार उल्लंघनको विषयलाई कमजोर ढंगबाट बुझ्नु नहुने बताएका हुन् । उनले दोहोर भीडन्तभन्दा बाहेक मानिसको हत्या भएको अवस्थामा त्यसलाई मानव अधिकारको गम्भीर उल्लंघनको रुपमा लिनुपर्ने बताए ।

त्यस्तैगरी, विधेयकमा युद्धमा संलग्न बालबालिकाहरुको विषय पनि समेटिनुपर्ने उनले बताए । युद्धमा संलग्न बालबालिकाहरुलाई परिपुरण र क्षतिपूर्तिको व्यवस्था हुनुपर्ने उनको भनाई छ । उनले मानव अधिकार उल्लंघनको घटनामा मेलमिलाप हुन नसकेमा अदालती प्रक्रियामा जान सकिने व्यवस्था हुनुपर्ने बताए ।

सचेतक बर्तौलाले अदालतले गरेका कतिपय फैसलाहरु कार्यान्वयन नभएर पीडितले न्याय नपाएका भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराए । उनले फैसला कार्यान्वयन निर्देशनालयको रिपोर्ट अनुसार १ लाख ९ हजार वर्ष कैद असुली गर्नुपर्ने र १९ अर्ब ३८ करोड रुपैयाँ जरिवाना असुली गर्नुपर्ने अवस्था रहेको भन्दै फैसला कार्यान्वयन गराउन सम्बन्धित निकायले पहलकदमी लिनुपर्ने बताए ।