• मंसिर १५ २०८१, शनिबार

मन्त्री किरातीलाई बर्खास्त गर्न राप्रपाको माग

पुष ६ २०८०, शुक्रबार

काठमाडौं । राप्रपाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई बर्खास्त गर्न माग गरेको छ । आज बसेको केन्द्रीय सचिवालय बैठकले किरातीले संविधान विपरीत धार्मिक र साम्प्रदायिक विद्वेष फैलाउने खालको अभिव्यक्ति दिएको भन्दै उनलाई बर्खास्त गर्न माग गरेको हो ।

सनातन धर्मावलम्बीहरूलाई अपमान गर्ने मन्त्री किरातीको अभिव्यक्ति कदापि स्वीकार्य नहुनेु राप्रपा नेपालको निष्कर्ष छ । यसैगरी राप्रपा नेपालले पशुपतिनाथ मन्दिरको संरक्षण र सम्वद्र्धन गर्ने जिम्मेवारी बोकेको पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशक पदमा गैरसनातनी र विधर्मी व्यक्तिलाई मनोनीत गर्ने सरकारको निणर्य आपत्तिजनक रहेको बताएको छ । सरकारले पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकका लक्ष्मी पुनलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

‘मन्त्रीको गैरजिम्मेवार अभिव्यक्ति र पशुपति क्षेत्र विकास कोषमा विधर्मी व्यक्तिको नियुक्ति सनातन धर्म संस्कृति र परम्परा कमजोर बनाउने र विदेशी धर्म स्थापित गर्ने कुत्सित मनशाय र नियोजित षडयन्त्रबाट प्रेरित रहेको स्पष्ट बुझ्न सकिन्छ,’ राप्रपा नेपालले भनेको छ ।

मन्त्री किरातीलाई तत्काल पदबाट बर्खास्त गर्न र पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशक नियुक्ति फिर्ता नगरिए सशक्त प्रतिवादमा उत्रन राप्रपा नेपालको चेतावनी छ । राप्रपा नेपालले आफूहरूका माग सम्बोधन नभए पर्सि आइतबार देशभर विरोध प्रर्दशन र पुतला दहन कार्यक्रम गरिने राप्रपा नेपालका महामन्त्री एवं सचिवालय प्रमुख भास्कर भद्राले बताएका छन् । गएको बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पर्यटन मन्त्री किरातीले क्रिश्चियन धर्म नमान्नेहरु देशद्रोही भएको बताएपछि उनी विवादित बनेका छन् ।