विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार आफूले सोचेजति सफल हुन नसकेको स्वीकार गरेका छन् ।
सोचेजति सफल नभए पनि अहिलेको अफ्ठ्यारो र जटिल परिस्थतिमा ऐतिहासिक हिसाबले सरकार सफल भएको जिकिर उनको छ ।
विराटनगर विमानस्थलमा बिहीबार साँझ संचारकर्मीसँग संक्षिप्त कुरा गर्दै दाहालले गठबन्धनको सरकार भएका कारण आफूले सोचेजति सफलता प्राप्त गर्न नसकेको स्वीकार गरेका हुन् ।
‘मैले जति सोचेको हो, जसरी सोचेको हो । त्यसरी नै भयो सफल भन्ने त मेरो पनि दाबी छैन । किनभने गठबन्धनको सरकार हो । धेरै सीमा र अफ्ठ्याराहरू हुन्छन् । सबैलाई मिलाएर लैजाने आफैमा जिम्मेवारीको कुरा हो,’ उनले भने, ‘तर, यो परिस्थितिमा जेजति काम सुरुदेखि अहिलेसम्म भएका छन् । मैले सुशासन, सामाजिक न्याय र समृद्धिका निम्ति भनेर जे भनेको थिएँ । गरेका कामहरू सफल भए भन्ने हो । त्यसका ऐतिहासिक रेकर्डहरू बनेका छन् ।’
सरकारले सुरुदेखि गरेका काम र प्रत्येक घटना हेर्दा कैयौं ऐतिहासिक रेकर्डहरु बनेको जिकिर प्रधानमन्त्रीको छ । ‘सरकार अफ्ठ्यारो र जटिल परिस्थितिमा छ । तैपनि मिटरब्याज पीडितका समस्या, नागरिकताको समस्या हल गर्नेदेखि भ्रष्टाचारविरुद्ध र सुशासनका पक्षमा यो लेभलको बहस र कारबाही कहिल्यै भएको थिएन,’ उनले भने, ‘भूमाफिया र तस्करीविरुद्धको कारबाही तथा अन्तराष्ट्रिय सम्बन्धका दृष्टिकोणले हेर्दा सरकार सफल भएको छ, ऐतिहासिक रूपले सफल भएको छ ।’