काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका छ जनाको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ ।
समितिको बुधबार बसेको बैठकले न्यायाधीशमा सिफारिस भएकाहरूको नाम अनुमोदन गरेको हो । न्यायपरिषदले गत मंसिर ५ गते सर्वोच्च अदालतका छ जना न्यायाधीश सिफारिस गरेको थियो । त्यसपछि उनीहरूको संसदीय सुनुवाइ भएको थियो ।
सारंगा सुवेदी, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना र अब्दुल अजिद मुसलमान, बालकृष्ण ढकाल र सुनिल पोखरेललाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएको थियो ।
संसदीय सुनुवाइ समितिबाट उनीहरूको नाम बुधबार अनुमोदन भएको समितिका सदस्य नेकपा एमालेका सांसद लिलानाथ श्रेष्ठले जानकारी दिए । गत शुक्रबारदेखि उनीहरूको सुनुवाइ गरिएको थियो ।
सर्वोच्च अदालतमा सात जना न्यायाधीशको पद रिक्त भएकोमा छ जनाको नाम मात्र सिफारिस भएको थियो ।