• मंसिर १५ २०८१, शनिबार

७ पार्टीका २० जना संघीय सांसदको टोली चीन प्रस्थान

पुष २ २०८०, सोमबार

काठमाडौं । २० जना संघीय सांसदहरू चीन भ्रमणका लागि गएका छन् । १० दिने भ्रमणका लागि सोमबार सांसदहरूको टोली बेइजिङ प्रस्थान गरेको छ । माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डेको नेतृत्वमा २० सदस्यीय टोली सोमबार दिउँसो १२ः०५ बजे चीन भ्रमण गएको संघीय संसद सचिवालयले जनाएको छ ।

उनीहरू छेन्दुहुँदै बेइजिङ प्रस्थान गरेका हुन् । भ्रमणमा नेपाली कांग्रेस र नेकपा एमालेबाट पाँच–पाँच जना, माओवादीका तीन जना, रास्वपाका एक जना, राप्रपाका एक जना, जसपाका एक जना र नेकपा एकीकृत समाजवादीका एक जना रहेका छन् । चीनको वाणिज्य मन्त्रालय अन्तर्गतको अन्तरराष्ट्रिय व्यापार एकेडेमीको कार्यक्रममा सहभागी हुन सांसदहरुको टोली चीन गएको हो ।

चीनमा रहँदा टोलीले बेइजिङ, नानजिङ र गियाङ सहरसमेत भ्रमण गर्ने । कांग्रेसबाट युवराज शर्मा, रामनाथ अधिकारी, ऐनबहादुर शाही, सरस्वती बजिमय र कुसुमदेवी थापा, एमालेबाट दामोदर बैरागी, मानवीर राई, निर्मला कोइराला, रुक्मिणी राना बराइली र भगवती न्यौपाने, माओवादीबाट मुख्य सचेतक पाण्डेसहित जगप्रसाद शर्मा र नारायणी शर्मा भ्रमणमा सहभागी छन् ।

रास्वपाबाट प्रमुख सचेतक सन्तोष परियार, राप्रपाबाट अनिशा नेपाली, जसपाबाट प्रकाश अधिकारी र एकीकृत समाजवादीबाट प्रमुख सचेतक मेटमणि चौधरी भ्रमण टोलीमा छन् । भ्रमण टोलीमा संघीय संसद सचिवालयका सचिव सुदर्शन खड्का, सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारी र शाखा अधिकृत जीवन निरौला पनि सहभागी छन् भने भ्रमण टोली पुस १४ गते स्वदेश फर्किनेछ ।