• मंसिर १५ २०८१, शनिबार

विपिन जोशीको रिहाइको लागि पहल गरिदिन कतारलाई आग्रह

मंसिर ३० २०८०, शनिबार

काठमाडौं । प्यालेस्टाइनी लडाकु समूह हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपीन जोशीको रिहाइका निम्ति थप पहल गर्न कतार सरकारलाई आग्रह गरिएको छ । कतार भ्रमणका क्रममा परराष्ट्रमन्त्री एनपी साउदले त्यहाँका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल–थानीसित यस्तो आग्रह गरेका हुन् ।

कतारमा दोहा २१औँ सम्मेलनमा सहभागी भएर शनिबार स्वदेश फर्किएका मन्त्री साउदले सो विषयमा सकारात्मक जवाफ पाएको जानकारी दिए । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले भने,‘नेपाली नागरिक विपीन जोशीको शीघ्र रिहाइका निम्ति कतार सरकारको थप सहयोग र समन्वय लगायत विषयमा छलफल गरेको थिएँ । कतार सरकारबाट सकारात्मक जवाफ पाएको छु ।’

भ्रमणका क्रममा उनले कतारका प्रधानमन्त्रीसित शिष्टाचार भेटवार्ता गरेका थिए । नेपालको विकासमा कतारको सहयोगलाई निरन्तरता दिन, नेपाली नागरिकलाई सुरक्षित र मर्यादित रोजगारीका थप अवसर उपलब्ध गराउन, यहाँको जलवायुलगायत क्षेत्रमा लगानी अभिवृद्धि गर्न पनि आफूले आग्रह गरेको उनले जानकारी गराए ।

उक्त सम्मेलनमा सहभागी हुन परराष्ट्रमन्त्री साउद यही मंसिर २३ गते कतारतर्फ प्रस्थान गरेका थिए । गएको अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेको थियो । त्यसक्रममा जोशीसहितका व्यक्तिलाई बन्धक बनाएको हो ।