बुटवल । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामाले चिनियाँ उपमन्त्री वाङ रुइजुन सहितको टोलीसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
शुक्रबार लुम्बिनीमा उनीहरुबिच भेटवार्ता भएको हो । चिनियाँ उपमन्त्री रुइजुनसहितको प्रतिनिधिमण्डलका सदस्यहरू ग्वाङ्दोङ, प्रान्तीय समितिको स्थायी समितिका सदस्य र ग्वाङ्दोङ प्रवासी मित्रता संघका अध्यक्ष चिनियाँ कम्युनिस्ट पार्टी ग्वाङ्दोङ प्रान्तका स्थायी सदस्य वाङ रुइजुन, ग्वाङ्दोङ प्रवासी मित्रता संघका अध्यक्ष झाङ के, गुआङ्दोङ प्रान्तको जातीय तथा धार्मिक मामिला आयोगका निर्देशक, गुआङ्दोङ धार्मिक तथा सांस्कृतिक आदानप्रदान संघका अध्यक्ष झाङ वेईसहितको टोलीसँग गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थललाई सञ्चालन लगायतको विषयमा उपाध्यक्ष लामाले छलफल गरेका छन् ।
भेटमा लुम्बिनीको विकास र गुरुयोजना, बौद्ध धर्म र समग्र नेपालको धार्मिक सांस्कृतिक एवं सामाजिक विषयमा चिनियाँ टोलीले छलफल गरेका थिए । उपाध्यक्ष लामाले भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन सहजीकरण एवं चिनियाँ पर्यटक भित्र्याउन लागि चीनको गोन्जाउ विमानस्थलबाट दैनिक एउटा हवाई उडान सञ्चालनका लागि चिनियाँ उपमन्त्री वाङसँग आग्रह गरेका छन् ।
यस्तै लामाले लुम्बिनीको विकासका लागि सहयोग गर्न चिनियाँसँग आग्रह गरे । भेटमा लुम्बिनी विकास कोषको तर्फबाट कोषका कोषाध्यक्ष सिद्धचरण भट्टराई, कोषका कार्यकारी सदस्य श्याम रोक्का, प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राई लगायतको उपस्थिति रहेको थियो ।