काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले काठमाडौं महानगरपालिकाले गरेको सकारात्मक कामबाट संघीय सरकारलाई पनि उत्प्रेरणा मिलेको बताएका छन् ।
२९औं महानगर दिवसका अवसरमा काठमाडौं महानगरपालिकाले गरेको समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले महानगरले गरेका सकारात्मक कामहरू आफूले नियालीरहेको र यसले संघीय सरकारलाई पनि प्रेरणा दिएको बताएका हुन् ।
‘शहरको सौन्दर्य, शिक्षाको व्यवस्थापन एवं विकास, सार्वजनिक शौचालयहरूको निर्माण र व्यवस्थापन, सांस्कृतिक सम्पदाहरू संरक्षण, लागू औषध, सूर्ति–चुरोट लगायतका वस्तुमा लगाएको नियमन, छात्रवृत्ति, रोजगारी सिर्जना लगायतका क्षेत्रमा महानगरले जे–जति पहल लिएको छ, यसले संघीय सरकारलाई समेत सकारात्मक उत्प्रेरणा पैदा गरिरहेको छ,’ उनले भने ।
उनले सकारात्मक कार्यमा अविचलित भई अगाडि बढ्नका लागि महानगरको नेतृत्व र टिमलाई अपिलसमेत गरे । प्रधानमन्त्रीले काठमाडौं महानगरलाई ऐतिहासिक सहरका रूपमा स्थापित गर्न सरकारको तर्फबाट गर्नुपर्ने साथ, सहयोग र निर्णयका निम्ति आफू तत्पर रहेको पनि बताएका छन् ।