काठमाडौँ । एमालेका प्रतिनिधिसभा निलबिम्त सदस्य लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न माग गर्दै पीडित परिवार काठमाडौँमा आएका छन् । सशस्त्र प्रहरीका दिवङ्गत असई थमन विककी पत्नी शोभा विक र भाउजू कमला विक काठमाडौँ आएका हुन् ।
२०७२ भदौ २५ मा महोत्तरीमा उपचारका लागि अस्पताल लैजाँदै गरेका सशस्त्र प्रहरी असई थमन विकलाई एम्बुलेन्सबाट थुतेर आन्दोलनकारीले हत्या गरेका थिए । जलेश्वरको संसारीमाई मन्दिर नजिकै आक्रमणकारीले उनको हत्या गरेका हुन् । सो आन्दोलनको नेतृत्व महोत्तरीको गौशाला नगरपालिका–२ घर भएका लक्ष्मी महतोले गरेका थिए ।
एमालेबाट चुनाव जितेका कोइरीविरुद्ध प्रेम बहादुर विकले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कर्तव्य ज्यान मुद्दाको जाहेरी दिएका थिए । सो मुद्दामा तारेख गुजारेर उनी फरार छन् । राष्ट्रसेवक कर्मचारी हत्या अभियोगमा उच्च अदालत जनकपुरले कोइरीलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको छ ।
२०७७ मंसिर १९ मा जनकपुर उच्च अदालतले जारी गरेको वारेन्टका कारण उनी प्रहरीको खोजी सूचीमा छन् । अदालतबाट जारी पक्राउ पुर्जी प्रहरीसँग छ । प्रधान कार्यालयले सो पुर्जी अहिले देशभरका प्रहरी युनिटहरुमा पठाएको छ तर, अहिलेसम्म कोइरी पक्राउ नपरेको भन्दै पीडित परिवारले उनलाई पक्राउ गर्न माग गरेका छन् ।
थमनकी भाउजू कमलाले भनिन्, ‘न्याय खोज्न काठमाडौँ आएका हौँ, न्याय नपाएसम्म फर्किंदैनौँ ।’ थमनका परिवार नेपालगन्ज–२५ शान्तिनगरबाट काठमाडौँ आएर कानुन कार्यान्वयन गर्ने निकायका अधिकारीहरूसँग भेटघाट थालेका छन् । प्रधानमन्त्री, गृहमन्त्री र आईजीपीलाई भेटेर कोइरीलाई पक्राउ गर्न दबाब दिने कमलाले जानकारी दिइन् ।