काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले बिजुली बिक्रीबाट आम्दानी गर्ने ठाउँमा नेपाल पुगेको बताएका छन् ।
समाजवादी मोर्चा म्याग्दीले आज बेनीमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै बस्नेतले अबको दुई वर्षभित्र नेपालले बिजुली बिक्रीबाट आम्दानी मात्रै गर्ने र बिजुली खरिद गर्न नपर्ने अवस्था आउने बताए ।
नेपालबाट गत वर्ष १० अर्बको बिजुली बिक्री भएको र २० अर्बको खरिद भएको जानकारी दिँदै मन्त्री बस्नेतले यो वर्ष नेपालले बिजुली बिक्रीबाट आम्दानी गर्ने दाबी गरे ।
‘यो वर्ष हालसम्म १४ अर्बको विद्युत् बिक्री भइसकेको छ, जेठ र असारसम्म पुग्दा १८ अर्बसम्मको हामीले विद्युत् बिक्री गर्ने लक्ष्य राखेका छौँ,’ उनले भने, ‘यो वर्ष नेपालले बाहिरबाट बढीमा १२ अर्बको मात्रै खरिद गरे पुग्छ, हामी यसै वर्षदेखि बिजुली बेचेर आम्दानी गर्ने अवस्थामा पुग्दैछौँ ।’
म्याग्दीका सबै घरधुरीमा केन्द्रीय विद्युतीकरणको पहुँच पुर्याउन आवश्यक बजेट विनियोजन गरेर कार्यक्रम अघि बढेको जानकारी दिँदै मन्त्री बस्नेतले नेपाल अँध्यारोमुक्त बन्ने बाटोमा रहेको बताए ।
म्याग्दीमा नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको राहुघाट जलविद्युत् आयोजनमा स्थानीयलाई शेयरको सुनिश्चित गर्नेसमेत उनले प्रतिबद्धता जनाए ।