• फाल्गुन ३० २०८२, शनिबार

राजनीतिक नेतृत्वको साथबिना एनसेलमा यति ठूलो अनियमितता हुनै सक्दैन : गगन थापा

मंसिर २१ २०८०, बिहीबार

काठमाडौं । कांग्रेस महामन्त्री गगन थापाले एनसेलको सेयर खरिद-बिक्री प्रकरणमा गठित समितिले छानबिन निष्कर्षमा पुर्याउनेमा आशंका व्यक्त गरेका छन् । समिति बने पनि ठीक हुन्छ भन्ने अवस्था नरहेको भन्दै थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत् सशक्त खबरदारी आवश्यक रहेको टिप्पणी गरेका हुन् ।

राजनीतिक वा प्रशासनिक नेतृत्वको साथबिना यति ठूलो अनियमितता हुन नसक्ने दाबी गर्दै उनले यसमा संलग्नहरू छानबिन प्रभावित गर्न लाग्नसक्ने तर्फ सचेत गराएका छन् । ‘समिति बन्यो सबै ठीक हुन्छ भन्ने अवस्था छैन । कानुनको छिद्र दुरुपयोग गरेर यस्तो गरेको प्रस्ट देखिन्छ । यसमा बदनियत छ, किनकि पहिला पनि पटक-पटक यस्तो गरेका दृष्टान्त छन्,’ थापाले लेखेका छन्, ।

‘राजनीतिक र प्रशासनिक नेतृत्वमध्ये कसैको साथ र आश्वासन नपाइकन यत्रो अनियमितताको हिम्मत आउँदैन । जसको आडमा यो भएको छ र जो प्रत्यक्ष-परोक्ष संलग्न छन्, अहिले हुने छानबिन प्रभावित गर्न उनीहरू लाग्ने नै छन् ।’ सुन तस्करी काण्डदेखि भुटानी शरणार्थी काण्डसम्म दलका शीर्ष नेताहरूबीच पर्दाभित्र मिलेमतोका प्रयास भएको भन्दै महामन्त्री थापाले यो प्रकरणमा त्यस्तो हुन नदिन सरकारभित्र, दलभित्र र बाहिरबाट समेत सशक्त खबरदारी गर्न आग्रह गरेका छन् ।