• जेष्ठ ७ २०८३, बिहीबार

आत्महत्या रोकथाम तथा नियन्त्रणका लागि स्थानीय तहले बजेट छुट्याउनु पर्छ : मन्त्री श्रेष्ठ

मंसिर २० २०८०, बुधबार

मन्थली । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगा  श्रेष्ठले आत्महत्या रोकथाम तथा नियन्त्रणका लागि स्थानीय तहले बजेट छुट्याउनु पर्ने बताएका छन् ।

बुधबार रामेछापको मन्थलीमा आयोजना गरिएको आत्महत्या न्यूनीकरण, मनोरोग रोकथाम र तनाव व्यवस्थापनसम्बन्धी १ दिने अन्तरक्रियालाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले स्थानीय तहले आत्महत्या रोकथामका लागि आगामी बजेटमा निश्चित प्रतिशत बजेट बिनियोजन गरी ठोस कार्यक्रम बनाएर कार्यान्वयन गर्नुपर्ने बताए ।

शैक्षिक संस्था, अस्पताल र स्वास्थ्य केन्द्रहरूमा तालिम प्राप्त मनोपरामर्शदाता राख्नुपर्ने र त्यसका लागि प्रदेश सरकारले पनि आवश्यक बजेट बिनियोजन गर्ने श्रेष्ठको भनाइ छ । आत्महत्या रोकथामका लागि राज्यका तीनवटै सरकारको संरचना, सहयोगी संघसस्थाहरू, सेवा प्रदायकहरू, घर परिवारका सदस्यहरू, आफन्तजन, साथीसङ्गी सबै पक्षसँग समन्वय, सहकार्य गरेर एकीकृत र केन्द्रीकृत रूपमा काम गर्नुपर्ने कुरामा उनले जोड दिए । जीवनलाई प्रेम गर्न र परिवर्तन गर्न सिकाउने उद्देश्यले मन्त्रालयले कार्यक्रम आयोजना गरेको उनले बताए ।

उनले विश्वमा वर्षमा ८ लाख र नेपालमा झन्डै ७ हजार अर्थात् दिनमा २० जना व्यक्तिले आत्महत्या गर्ने गरेको तथ्यांक रहेको उल्लेख गरे । सडक दुर्घटना, वायु प्रदुषणबाट भन्दा बढी आत्महत्याबाट ज्यान गइरहेको भन्दै उनले नेपालमा आत्महत्याको समस्या दिनानुदिन भयावह रूपमा बढ्दै गएको बताए ।

आत्महत्या रोकथाम र नियन्त्रणमा तीनै तहको सरकारले गम्भीर योजना बनाउन र कार्यान्वयन गर्न नसकेकोमा चिन्ता पनि व्यक्त गरे ।