• फाल्गुन ३० २०८२, शनिबार

कर्णाली प्रदेशमा ड्यूटीमा रहेका प्रहरीले अबदेखि मोबाइल चलाउन नपाउने

मंसिर १५ २०८०, शुक्रबार

सुर्खेत । कर्णालीमा खट्ने प्रहरीले ड्युटीमा रहेको समयमा मोबाइल प्रयोग गर्न नपाउने भएका छन् । ड्युटीको समयमा प्रभावकारी रूपमा प्रहरीहरूले जिम्मेवार भएर काम गर्न नसकेको भन्दै कर्णाली प्रदेश प्रहरी कार्यालयले मोबाइल फोन चलाउन प्रतिबन्ध लगाएको हो । कर्णालीका १० वटै जिल्लाका प्रहरीले ड्युटीमा रहेको समयमा मोबाइल फोन चलाउन पाउने छैनन् तर, टिम कमाण्डरको हकमा भने यो नियम लागूहुने छैन ।

‘सुरक्षा जस्तो संवेदनशिल कार्यमा खटिएको कर्मचारीले एक चित्त लगाएर आफ्नो जिम्मेवारी क्षेत्र र विषयमा मात्र ध्यान केन्द्रित गरून् भन्ने उद्देश्य हो,’ कर्णाली प्रदेशका डीआईजी भीम ढकालले भने, ‘ड्युटीको समयमा आफ्नो जिम्मेवारी क्षेत्रभित्र प्रभावकारी निगरानी हुन सकोस् र आम नागरिकलाई प्रभावकारी रूपमा सुरक्षा अनुभूति दिलाउन यो व्यवस्था लागू गरेका छौँ ।’

ड्युटीको समयमा मोबाइल नचालाउँदा सुरक्षा निगरानी प्रभावकारी हुने, अपराध भएमा तत्काल अनुसन्धान सफल हुने र सामाजिक सञ्जालको दुरूपयोग हुनबाट प्रहरी कर्मचारीलाई बचाउन सकिने कार्यालयले जनाएको छ ।

प्रहरी कर्मचारी स्वयमको पनि मोबाइल खर्च बचत र यो नियमले प्रहरीप्रति नागरिकको विश्वास पनि बढ्ने अपेक्षा गरिएको ढकालले बताए ।