• मंसिर १५ २०८१, शनिबार

यो संविधान हिन्दु धर्मकाे आधारमा बनाइकोले फेरि हिन्दु राष्ट्रका लागि टाउको दुखाइरहनु  पर्दैन : उपेन्द्र यादव

मंसिर १५ २०८०, शुक्रबार

काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अहिलेको संविधानमा पनि हिन्दु राष्ट्रकै जस्तो झल्को रहेको बताएका छन् । पार्टीको आधिकारिक युटुयुव च्यानलमार्फत् आफ्नो धारणा सार्वजनिक गर्दै अध्यक्ष यादवले अहिलेको संविधान हिन्दु राष्ट्रकै संविधानजस्तो रहेकाले हिन्दु राष्ट्रका लागि टाउको दुखाइको विषय नरहेको बताएका छन् ।

नेपालको संविधानमा स्पष्ट रुपमा हिन्दु लेखिएको भन्दै उनले पहिलाको संविधान र अहिलेको संविधानमा खासै फरक नदेखिएको प्रस्ट पारेका छन् । अहिलेको संविधानमा पनि सनातन हिन्दु धर्मलाई मान्यता दिएको कारण अहिलेको संविधान पनि हिन्दु राष्ट्रको संविधान रहेको उनको भनाइ छ । अध्यक्ष यादवले अहिले जनतामा देखिएको आक्रोश संघीयता र लोकतन्त्रको विरुद्धमा नभएर राजनीतिक दल, नेता र राज्य संयन्त्र विरुद्ध रहेको बताए ।

उनले भने, ‘मुलुक राजनीतिबाट गाइडेड नभएर ब्युरोक्रेसीबाट गाइडेड भएको छ । अहिलेको लोकतन्त्र लोकतन्त्र नभएर नोकरशाही तन्त्र भएको छ, अहिलेको दलतन्त्र दलतन्त्र नभएर नेतातन्त्र भएको छ । त्यसैको विरुद्धमा जनताले आफ्नो आक्रोश पोखिरहेको छ ।’
राजनीतिक दलका नेताको असफलता र राज्य संयन्त्रहरुको कमजोरीका कारण जनता आक्रोशित भएको बताउँदै उनले सो आक्रोशले नयाँ क्रान्ति खोजिरहेको बताए । विगत ३४ वर्षदेखि यही कांग्रेस र कम्युनिस्टले देशमा शासन गरे तर मुलुकलाई सम्हालल्न सकेनन्, चलाउन सकेनन् भन्दै उनले जनतामा परीक्षण भइसकेका दलबाट यो देश उभो नलाग्ने ठोकुवा गरे ।

‘१५ वर्ष भइसक्यो तर देशमा गणतन्त्र संस्थागत हुन सकेन । राजतन्त्रकालका कतिपय ऐन कानुन अझै कार्यान्वयनमा छन्’ उनले भने, ‘जनताले गणतन्त्रको अनुभूति गरिरहेको छैन । त्यसकै विरुद्धमा जनता सडकमा आएका हुन् ।’ अहिलेको संविधानमा केही राम्रा कुरा भए पनि नेपालको विविधतालाई समेट्न नसकेको अध्यक्ष यादवको गुनासो छ । गरिबी, अशिक्षा बढ्दै गइरहेको र जनतामा निराशा बढ्दै गइरहेको भन्दै उनले यसको जिम्मेवारी कांग्रेस र कम्युनिस्टले लिनुपर्ने बताए । कांग्रेस र कम्युनिस्ट पार्टीले संघीयता र गणतन्त्रलाई संस्थागत गर्न नचाहेको उनको आरोप छ ।

उनले भने, ‘प्रदेशलाई आर्थिक स्रोतमाथि अधिकार दिएको छैन, प्रहरी ऐन बनेको छैन । प्रदेशभन्दा स्थानीय तहलाई बलियो बनाएको छ ।’ उनले राष्ट्रिय मुद्दा, महिला, मुस्लिम, अल्पसंख्यकको मुद्दा सम्बोधन गर्नुपर्नेमा समेत जोड दिए । संघीयतालाई सञ्चालन गर्न आवश्यक कानुन बनाउने, प्रहरी प्रशासन दलसम्म अधिकार दिनुपर्ने भन्दै उनले संविधानलाई सच्याउनुपर्ने प्रस्ट पारे । यसबाट जनतामा आक्रोश कम हुने उनको भनाइ छ ।