• मंसिर १५ २०८१, शनिबार

प्रधानमन्त्री प्रचण्ड आज दुबई जाँदै, अन्य दुई मन्त्री पनि साथमा लैजाँदै

मंसिर १३ २०८०, बुधबार

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज संयुक्त अरब इमिरेट्स (यूएई) को दुबई जाँदै छन् ।

भोलिदेखि मंसिर २६ गतेसम्म चल्ने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप–२८) मा सहभागी हुन प्रधानमन्त्री त्यसतर्फ जान लागेका हुन् । सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले अन्य दुई मन्त्री पनि लैजाँदै छन् ।

मंसिर १५ र १६ गते सम्मेलनमा सहभागी राज्य सरकार र प्रमुखहरुले सम्बोधन गर्ने कार्यतालिका छ । प्रधानमन्त्री दाहालले मंसिर १६ गते शनिबार सम्मेलनलाई सम्बोधन गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री दाहाल नेतृत्वको प्रतिनिधिमण्डलमा छोरी गंगा दाहाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, वन तथा वातावरणमन्त्री वीरेन्द्र महतोलगायत नेपाल सरकारका अन्य वरिष्ठ अधिकारीहरू रहने छन्।

सम्मेलनमा नेपालले जलवायु अनुकूलनमा थप प्रतिबद्धता र कार्यान्वयन, जलवायु परिवर्तन न्यूनीकरण, जलवायु वित्त, हानी तथा नोक्सानी, पेरिस सम्झौताको विश्वव्यापी प्रगति समीक्षा, पर्वतीय राष्ट्रहरूका समस्याको पहिचान र सम्बोधनका विषयलाई महत्वका साथ उठाउने छ।