• जेष्ठ ७ २०८३, बिहीबार

दुर्गा प्रसाईँको आजको आन्दोलन तीनकुने केन्द्रित हुने, प्रशासन भन्छ-`कार्यक्रम गर्ने अनुमति दिइएको छैन´

मंसिर ८ २०८०, शुक्रबार

काठमाडौं । मेडिकल व्यावसायी दुर्गा प्रसाईँको नेतृत्वमा आज पनि काठमाडौंमा प्रदर्शन हुने भएको छ । आज तीनकुनेलाई केन्द्र बनाएर आन्दोलनलाई जारी राख्ने प्रसाईँले जनाएका छन् । यता जिल्ला प्रशासन कार्यालय काठमाडौँले प्रसाईँलाई तीनकुनेमा कार्यक्रम गर्नका लागि अनुमति नदिएको जनाएको छ ।

कार्यालयसँग कुनै समन्वय नगरी शान्ति सुरक्षा तथा अमनचयन बिथोल्ने गरी कार्यक्रम सार्वजनिक गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै कार्यालयले तीनकुनेमा कार्यक्रम गर्न अनुमति प्रदान नगरिएको जनाएको हो ।

प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपालले शुक्रबारदेखि तीनकुनेमा विरोधका कार्यक्रम गर्न लागेको जनाएको थियो । हिजो बल्खुमा भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा १३ जना घाइते भएको जनाउँदै प्रसाईँले भनेका छन्, ‘सबै मिसन ८४ भनेर लागेका छन् तर हामी मिसन ८५ होइन हामी मिसन टुडेमा छौँ र हामीले यो व्यवस्था परिवर्तन गरिछाड्ने छौँ।’