• फाल्गुन ३० २०८२, शनिबार

भुटानी शरणार्थी प्रकरण मुद्दा उच्च अदालतमा निरन्तर सुनुवाइ गरेर टुंग्याइदै

मंसिर ५ २०८०, मंगलवार

काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भनी भएको ठगी सम्बन्धी मुद्दामा जिल्ला अदालत काठमाडौंको आदेश विरुद्ध उच्च अदालत पाटनमा मंगलबारदेखि निरन्तर सुनुवाइ हुने भएको छ।

लामो समयदेखि जिल्लाले पुर्पक्षमा पठाउने निर्णय विरुद्ध दायर गरेको निवेदन विचाराधीन रहेकाले निरन्तर सुनुवाइ गरेर टुंग्याउन लागिएको हो। मंगलबार उक्त मुद्दाको पेसी न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको इजलासमा तोकिएको छ।

पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाण, निलम्वबत सचिव टेकनारायण पाण्डे लगायत प्रतिवादीले जिल्ला अदालत काठमाडौंको थुनामा पठाउने निर्णय त्रुटिपूर्ण भएको दाबीसहित उच्च अदालत, पाटनमा साउनमा निवेदन दिएका थिए। करिब ४ महिनापछि उक्त निवेदनहरुमा सुनुवाइ हुन लागेको हो। जिल्ला अदालत काठमाडौंले अभियुक्तहरूलाई असार १ गते थुनामा पठाउने आदेश दिएको थियो।

नेकपा (एमाले)का सांसद समेत रहेका पूर्व उपप्रधानमन्त्री रायमाझी, नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री खाण, उपराष्ट्रपति कार्यालयका सचिव पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, थापाका निजी सहायक नरेन्द्र केसी, रामशरण केसी, पूर्व सांसद आङटावा शेर्पा, टोपबहादुर रायमाझीका छोरा सन्दीप, मोरङका केशवप्रसाद दुलाल, ललितपुरका सानु भण्डारी, मोरङका सागर राई, हज समितिका अध्यक्ष शमशेर मियाँ, शरणार्थी नेता टेकनाथ रिजाल लगायत पक्राउ परेका थिए।

उनीहरुलाई प्रारम्भिक प्रमाणका आधारमा धरौटीमा रिहा गर्न अदालतले अस्वीकार गरेर थुनामा पठाएको थियो। उक्त मुद्दामा फरार रहेका प्रतिवादी रामबहादुर थापाका छोरा प्रतीक र इन्द्रजित राईका छोरा नीरज राई लगायत १५ जना हालसम्म फरार नै छन्। शरणार्थी प्रकरणका प्रतिवादीहरूमाथि ठगी, लिखत कीर्ते, राज्य विरुद्ध र संगठित अपराध सम्बन्धी अभियोग छ।