काठमाडौं । चिकिसा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीले जाजरकोट भूकम्पग्रस्त क्षेत्रमा महामारीजन्य रोग फैलन नदिन सरकारको ध्यानाकर्षण गराएका छन् ।
आइतबार विज्ञप्ति जारी गर्दै उनले सो क्षेत्रमा झाडापखाला र श्वासप्रश्वासजन्य रोगको महामारी फैलन नदिन सरकारबाट ठोस कदम नचालिएको बताए ।
‘झाडापखाला र श्वासप्रश्वासजन्य रोगको महामारी फैलिनबाट रोकथामका लागि ठोस कदम चालेको पाइँदैन । फैलिएको खण्डमा दशकौँदेखि राज्य नेतृत्व पक्षको हेलचक्र्याइँ र गैरजिम्मेवारपनका कारण भ्रुण अवस्थामै राखिएका स्थानीय स्वास्थ्य संस्थाहरू जो भूकम्पबाट सामान्य घाइतेहरूको उपयुक्त उपचार गर्ने क्षमताका छैनन्, महामारी ‘कोप’ गर्न सक्ने छैनन् । परिणाम भयावह हुनेछ,’ विज्ञप्तिमा भनिएको छ ।
ग्रामीण भेगमा ठूला अस्पतालको अभाव र क्षमताहीन साना स्वास्थ्य केन्द्रहरूका कारण ०७२ सालको भूकम्प र कोरोना महामारीका बेला धेरैले ज्यान गुमाउनुपरेको तथ्यबाट सरकारले अझै पाठ नसिकेको उनको भनाइ छ ।