• फाल्गुन २४ २०८२, आईतवार

अंग्रेजी पढाइको नाममा सामुदायिक विद्यालयले उठाइने शुल्क बन्द गर्ने गाउँपालिका अध्यक्ष महतोको घोषणा

मंसिर २ २०८०, शनिबार

जनकपुधाम । धनुषाको बटेश्वर गाउँपालिकाका अध्यक्ष रामअशिष महतोले आगामी शैक्षिक सत्रबाट सामुदायिक विद्यालयले विद्यार्थीबाट उठाउँदै आएको शुल्क नलिने घोषणा गरेका छन् ।

कानुन विपरित शिवशक्ति नमूना माध्यमिक विद्यालयले विद्यार्थीहरूबाट बिल समेत नदिइ उठाउँदै आएको रकम नलिने र अंग्रेजी माध्यममा पठनपाठनको बहानामा शुल्क लिने तयारी गरिरहेको अर्को विद्यालयलाई समेत शुल्क लिन नदिने उनले बताएका छन् ।

प्रावधिक तर्फ शिवशक्ति माविले कक्षा ९ मा वार्षिक ४ हजार ५ सय, कक्षा १० मा ८ हजार, कक्षा ११ मा ९ हजार ३ सय र कक्षा १२ मा १० हजार रुपैयाँ प्रतिविद्यार्थी वार्षिक रुपमा उठाउँदै आएको छ । शुक्रबार बटेश्वर युवा संजालले आयोजना गरेको ‘बटेश्वर मंथन’ कार्यक्रममा उनले पालिकाभरका विद्यालयमा शिक्षक भर्नाका साथै भौतिक संरचना निर्माण कार्यलाई तिब्रता दिएको बताए ।

‘हामीले दरबन्दी अनुसार शिक्षक पूर्ति गरिरहेका छौं । विगतमा विद्यालय भताभुंग अवस्थामा थियो । अझैपनि स्कूलहरूले पालिकालाई हिसाब दिन मानेको छैन । गैरकानुनी तरिकाबाट विगतमा शिक्षक भर्ना हुँदा पनि समस्या भएको हो,’ उनले भने, ‘सोचे जतिको काम गर्न सकेका छैनौं तर स्वास्थ्य चौकीमा नागरिकले निःशुल्क पाउनुपर्ने औषधि सकेसम्म उपलब्ध गराइदिएका छौं । सिँचाई र कृषि विद्युतीकरणको काम पनि गरिरहेका छौं ।’

सामान्य प्रशासन मन्त्रालयले पालिकासँग समन्वय नै नगरी अचानक प्रशासकीय अधिकृतको सरुवा गर्दा काम गर्न समस्या भइरहेको अध्यक्ष महतोले बताए ।

कर्मचारीको असहयोगले भुक्तानी समस्या समेत निम्तिएको उनको भनाई थियो । बटेश्वर गाउँपालिकामा उपभोक्ता समिति मार्फत् गत आर्थिक वर्षमा सम्पन्न भएका योजनाहरूको झण्डै डेढ करोड रुपैयाँ भुक्तानी हुन बाँकी छ । संजालले अयोजना गरेको मन्थनमा गाउँपालिकाका पाँचवटै वडाका वडाध्यक्षहरूले सहभागीहरूले गरेको प्रश्नहरूको जवाफ दिएका थिए ।

दिपावली र छठको अवसरमा संजालले स्वास्थय शिविर र रक्तदान कार्यक्रम समेत आयोजना गरेको थियो । निःशुल्क स्वास्थ्य शिविरमा ९५ जनाले स्वास्थ्य लाभ लिएको र १०५ जनाले रक्तसमूह परीक्षण गराएको संजालका संयोजक सरोजकुमार महतोले बताए । उनका अनुसार ४२ जनाले रक्तदान समेत गरेका थिए ।