काठमाडौँ । सरकारले सामाजिक सद्भाव विथोलेको भन्दै सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेपछि इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले आंशिक रुपमा टिकटक बन्द गरेका छन् । सामान्यता अहिले टिकटक खुले पनि भिडियो भने चल्दैन ।
तर, नेपालमा भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) चलाएर टिकटक भने चलिरहेको छ । अहिले पनि ठूलो संख्यामा नेपालीहरू टिकटकमा सक्रिय रहेका छन् । टिकटक बन्द गर्ने सरकारी निर्णयको समर्थनभन्दा विरोध धेरै भइरहेको छ ।
व्यक्तिगत रुपमा सबै दलका नेताहरूले टिकटक बन्द गर्ने सरकारी निर्णयको विरोध गरे पनि कुनै पनि दलले अहिलेसम्म यो निर्णयको संस्थागत विरोध वा स्वागत भने गरेका छैनन् ।
सत्ता साझेदार दल कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा नेता शेखर कोइरालालगायतले टिकटक बन्द गर्ने निर्णयको कडा विरोध जनाएका छन् । तर, कांग्रेस संस्थापनले भने यो विषयमा केही बोलेको छैन ।
उता प्रमुख विपक्षी पार्टी एमालेका नेताहरूले टिकटक बन्द गर्ने निर्णयको विरोध गरेका छन् । तर, अध्यक्ष केपी शर्मा ओली र एमालेको औपचारिक धारणा भने आएको छैन । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन पनि यो निर्णयको विरोध गरेका छन् ।