काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले ‘सर्ट टर्म भिडियो’ होस्टिङ सञ्जाल टिकटकलाई बन्द गर्नेभन्दा पनि नियमन गर्नुपर्ने बताएका छन्।
सामाजिक सञ्जाल फेसबूकमा एक सन्देश लेख्दै बालेनले टिकटकबाट विभिन्न ‘अराजकता’ फैलिए पनि त्यसलाई बन्द गरिनु उचित नभएको बताएका छन्।
टिकटबाट आफू र आफ्ना शुभचिन्तकले समेत हैरानी खेपेको उल्लेख गर्दै बालेनले भनेका छन्, ‘तर यो भन्दैमा अहिले जस्तो टिकटकलाई बन्दै गर्नु पर्छ भन्ने हैन।’
अब टिकटकलाई करको दायरमा ल्याउने र त्यसमार्फत् सामाजिक सद्भाव बिगार्नेलाई कारबाही गर्ने संयन्त्र विकास गर्नुपर्ने बालेनको भनाइ छ। ‘अहिले जस्तो बन्द नै गर्ने होइन। बन्द समाधान होइन, अब यो बन्दलाई टिकटकसङ नियमन गर्नलाई दह्रो आधार बनोस्। मर्यादित भएर फेरि टिकटक चलाउन पाइयोस्,’ बालेनले लेखेका छन्।