काठमाडौं । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले सरकारले सामाजिक सञ्जाल नियमन गर्नुको सट्टा नियन्त्रण गर्न लागेको बताएका छन् ।
सोमबारको मन्त्रिपरिषदको बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको थियो । यसबारे टिप्पणी गर्दै उपमहासचिव ज्ञवालीले ‘जुम्रा पर्यो भनेर रोकथाम, नियन्त्रणको उपाय अवलम्बन गर्नुभन्दा टाउकै काटेर फ्याँक्न उद्दत भएजस्तो’ भएको बताए ।
‘गर्नुपर्ने प्रभावकारी नियमन थियो । नियमनकारी निकाय, नेपाल प्रहरीको साइबर ब्युरोलाई प्रभावकारी बनाउनुपर्ने थियो,’ उनले भने, ‘तर सरकार नियन्त्रण गर्न अघि बढ्यो । टिकटकमा खराब सामग्री उत्पादन भयो । त्यसलाई बन्द गर्ने, भोलि फेसबुक, एक्स त्यस्तै होला । युट्युबाट फेकन्युज, हानिकारक सामग्री उत्पादन भइरहेको छ । कतिलाई बन्द गर्ने, बन्दै समाधान हो त ? यसरी त समाधान हुँदैन ।’
उनले टिकटकलगायत सामाजिक सञ्जाललाई प्रभावकारी नियमनको खाँचो औंल्याए ।
उपमहासचिव ज्ञवालीले टिकटकलगायत सञ्जाल बन्द गरेर हानिकारक सामग्री उत्पादन र प्रसारण नरोकिने बताउँदै, भिपिएन लगायतका माध्यमबाट यस्ता एप खोल्ने क्रम बढ्नेतर्फ सचेत गराए ।