• फाल्गुन २६ २०८२, मंगलवार

वीर अस्पताल भित्रकै बिचौलियाले अस्पतालको बदनाम गरे : मन्त्री बस्नेत

कार्तिक २५ २०८०, शनिबार

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले अस्पतालभित्रकै बिचौलियाले वीर अस्पताल बद्नाम गर्ने काम गरिरहेको बताएका छन् । शनिबार बिहान वीर अस्पताल सरसफाई अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले वीर अस्पतालकै तलव खाने, तर व्यक्तिगत स्वार्थ पूरा नभएपछि वीर अस्पताललाई बदनाम गर्ने, गालीगलौज गर्ने र मिडियामा गएर गलत समाचार लेखाउने पनि वीर अस्पतालभित्रकै बिचौलिया भएको दावी गरे ।

मन्त्री बस्नेतले भने, ‘केही स्वार्थी कर्मचारी र विचौलियाले वीर अस्पताल बदनाम गर्ने गरेका छन् । उनीहरुले आफ्नो स्वार्थ पूरा गर्न तल्लो वर्गका कर्मचारी उचाल्ने गरेका छन् । यसमा सबै सजक रहनु पर्छ ।’ देशकै जेठो र सबैभन्दा ठूलो अस्पतालको ख्याति कमाएको वीर अस्पतालमा देशभरिकै दक्ष चिकित्सक र स्वास्थ्यकर्मी रहेको दावी गर्दै उनले वीर अस्पताललाई नमूना अस्पतालको रुपमा विकास गर्न सबै मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

वीर अस्पतालमा मेहनतका साथ काम गरिरहेका कर्मचारी र कामै नगरी तलव खाने बिचौलिया बिचको विभेद छुट्याएर नेतृत्वले काम अनुसार अवसर प्रदान गर्नुपर्नेमा ध्यान दिन जरुरी रहेको मन्त्री बस्नेतले बताए ।

उनले आफूले स्वास्थ्यमन्त्रीको जिम्मेवारी सम्हालेपछि वीरमा विपन्नका लागि जनरल बेड निःशुल्क गरेको, ओपिडी बिहान ८ बजेदेखि नै सञ्चालन गरेको, अनलाईनबाट टिकट काट्ने व्यवस्था मिलाएको, भिआईपी, भिभिआईपी कक्ष थप गरेको र आर्थिक पारदर्शिता कायम गरेको जस्ता सुधारका काम गरेको दावी गर्दै केही बिचौलियाले सहन नसकेर वीरको बदनाम गर्दै हिँडेको बताए ।