• फाल्गुन ३० २०८२, शनिबार

अदालतले जोगाइदियो मौलापुर नगरपालिकाकी मेयर साहको पद

कार्तिक २४ २०८०, शुक्रबार

काठमाडौं । सर्वोच्च अदालतले रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साहलाई यथावत रूपमा काम गर्न दिन आदेश दिएको छ । शुक्रबार न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले मेयर साहलाई यथावत रूपमा काम कारबाही गर्न दिन अन्तरिम आदेश दिएको हो ।

‘मौलापुर नगरपालिकाको निवेदीका निर्वाचित भएको नगरप्रमुख पद रिक्त भएको भनी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी) बाट भएको निर्णय तथा सो सम्बन्धमा निर्वाचन आयोगलाई गरेको पत्राचार, निवेदिकाको नगरप्रमुख पद स्वतः रिक्त भएको भनी निर्वाचन आयोगबाट मिति असोज २९ मा भएको निर्णय तथा गोरखापत्रमा प्रकाशित सूचनासमेत हाललाई कार्यान्वयन नगर्नू, नगराउन आदेशमा भनिएको छ ।

एमाले छाडेर प्रभु साहको आम जनता पार्टी प्रवेश गरेको भन्दै एमालेले दल त्यागको जानकारी निर्वाचन आयोगलाई गराएपछि मेयर साहको पद गुमेको थियो । निर्वाचन आयोगले राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ अनुसार साहले दल त्याग गरेकाले मेयर पद रिक्त भएको सूचना निकालेको थियो । साह २०७९ वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा एमालेबाट मेयरमा निर्वाचित भएकी थिइन् ।

मेयर पद गुमेपछि साहले सर्वोच्च अदालतमा निर्वाचन आयोग र एमालेविरुद्ध रिट दायर गरेकी थिइन् । रिटमा मेयर साहले आफू एमालेमै रहेको दाबी गरेकी थिइन् । ‘एमालेबाट चुनाव जितेकी हुँ, एमालेमै छु,’ उनले भनेकी थिइन् । एमाले परित्याग गरेर प्रभु साहको पार्टीमा लागेको आरोप लागेको छ नि भन्ने प्रश्नमा उनले भनेकी थिइन्, ‘प्रभु साहको पार्टीमा लागेको छैन । उहाँको पार्टीको केन्द्रीय समिति बैठकमा पनि गएको छैन । म एउटा पार्टीबाट चुनाव जितेर अर्को पार्टीमा कसरी जान मिल्छ ?’