काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसिसिसी)का पक्ष राष्ट्रहरूको २८औँ सम्मेलन (कोप-२८) संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा हुँदैछ ।
आगामी मङ्सिर १४ देखि २६ गतेसम्म हुने सम्मेलनमा नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा सहभागिता जनाउने भएको छ । वन तथा वातावरण मन्त्रालयले उच्चस्तरीय प्रतिनिधिमण्डलको सहभागितालाई प्रभावकारी बनाउन सोहीअनुसारको तयारी थालेको छ ।
मन्त्री डा वीरेन्द्रप्रसाद महतोले सम्मेलनको तयारी तीब्रताका साथ भइरहेको बताउँदै यसपटक नेपालले उच्चस्तरीय प्रतिनिधिमण्डलका साथ आफ्ना मुद्दा अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्ने जानकारी दिए ।
नेपालले जलवायु सम्मेलनमा लामो समयदेखि सहभागिता जनाउँदै आए पनि अपेक्षाअनुसार उपलब्धि हासिल हुन नसकेको टिप्पणी गर्दै मन्त्री महतोले यस पटक नेपालले प्रमाण र तथ्याङ्कसहित प्रभावकारी रूपमा सम्मेलनमा प्रस्तुत हुने जानकारी गराए ।