• फाल्गुन ३० २०८२, शनिबार

संविधानले दिएको अधिकार नपाए सिंहदरबारमा धर्ना बस्ने मुख्यमन्त्री कार्कीको चेतावनी

कार्तिक २३ २०८०, बिहीबार

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संविधानले प्रदेशलाई दिएको अधिकार नपाए सिंहदरबारमा धर्ना बस्ने चेतावनी दिएका छन् । प्रदेशसभा बैठकमा मुख्यमन्त्रीसँग प्रश्नोत्तरका क्रममा सांसदले उठाएको प्रश्नको जवाफ दिंदै उनले संविधानले दिएको अधिकार नपाए चाँडै सिंहदरबारमा धर्ना बस्ने बताएका हुन् ।

संविधानले प्रदेशलाई दिएको एकल अधिकार सूचीका काममा समेत संघीय सरकारले हस्तक्षेप गरेको उनको गुनासो छ । प्रदेशका अधिकार तत्काल हस्तान्तरण गर्न माग गर्दै मुख्यमन्त्री कार्कीले हस्तान्तरण नभए मुख्यमन्त्रीकै हैसियतमा सिंहदरबारमा धर्ना बस्ने बताए । सांसद गोम्बु शेर्पाले संघीय सरकारले प्रदेशको एकल अधिकार र संघ तथा प्रदेशको साझा अधिकार सूचीमा रहेका अधिकारहरु कार्यान्वयनमा तदारुकता नदेखाएको भन्दै मुख्यमन्त्रीलाई प्रदेशको अधिकार प्राप्तिका लागि तपाईंको योजना के छ भनी सोधेका थिए ।

मुख्यमन्त्री कार्कीले संघीय सरकारले अधिकार दिन नचाहेको बताए । ‘हामीले हाम्रो अधिकार ल्याउनका लागि र जनतालाई डेलिभरी दिनका लागि, संघीय सरकारले कब्जा गरेर राखेका अधिकारलाई ल्याउन मुद्दा हाल्न पनि सक्छौं’,

उनले भने, ‘संविधानले दिएको प्रदेशको अधिकार प्रदेशमै ल्याउनका लागि सिंहदरबारमा गएर धर्ना दिन पनि सकिन्छ ।
र, म अधिकार छिट्टै आएन भने, उहाँहरुले तदारुकता दिनुभएन भने सिंहदरबारमा म आफैं मुख्यमन्त्रीको हिसाबले गएर धर्ना दिन्छु ।’