काठमाडौं । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई), सहायक हवल्दार र जवान समेतको मिलेमतोमा डाँकाचोरी घटनामा संलग्न पाँचै जना जेल चलान भएका छन्। काठमाडौं जिल्ला अदालतका न्यायाधीश कपिलमणि गौतमको इजलासले बुधबार पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो।
डाँकाचोरी घटनामा पक्राउ परेका प्रहरी वृत्त महाराञगञ्जमा कार्यरत असई ४३ वर्षीय सुनबहादुर तामाङ, ३३ वर्षीय सहायक हवल्दार खगराज अधिकारी, २२ वर्षीय जवान भुवन बरालसहित सुनसरीको तरहरा घर भइ काठमाडौं बस्दै आएका २८ वर्षीय मदन पुरी र सोही ठाउँका २५ वर्षीय सन्तोष पुरी जेल चलान भएका हुन्।
अहिले कारागार चलान भएका ५ जनाविरुद्ध कुमार रोकाले प्रहरीमा जाहेरी दिएका थिए। जाहेरीकर्ता रोका असोज २१ गते राति ठमेलबाट बालुवाटार जान लागेका थिए। सोही बेला ३ जना महिलाले लिफ्ट मागेकाले आफूले उनीहरुलाई लिफ्ट दिएको रोकाको जाहेरीमा उल्लेख छ।