• मंसिर १३ २०८१, बिहीबार

भाटभटेनी सुपरमार्केटद्वारा भूकम्प पीडितलाई एक करोड आर्थिक सहयोगको घोषणा

कार्तिक १८ २०८०, शनिबार

काठमाडौं । भाटभटेनी सुपरमार्केटले जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परेका नागरिकको उद्धार, उपचार तथा व्यवस्थापनका लागि एक करोड ११ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ ।

भाटभटेनी सुपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले विपदमा परेका नागरिकको उद्धार सरकारको पहिलो प्राथमिकता भएको उल्लेख गर्दै पीडित नागरिकलाई भाटभटेनीका तर्फबाट सहयोगको घोषणा गरिएको बताए ।

‘गएराति गएको भूकम्पमा परेर जति पनि नेपाली दाजुभाइ दिदीबहिनीको मृत्यु भएको छ, त्यसप्रति हामी निकै दुःखी छौँ,’ गुरुङले भने, ‘दुःखको यस घडीमा हामी पीडित नागरिकसँगै छौँ भन्ने सन्देश दिन चाहन्छौँ । त्यसैले हामीले यो सहयोग गरेका हौँ ।’

घोषणा गरिएको रकम सरकारी राहत कोषमार्फत् प्रदान गरिने भएको छ । साथै गुरुङले यसबाहेक खाद्यान्नसहित अन्य कुनै प्रकारका सहयोग आवश्यक परेमा आफूहरुले उपलब्ध गराउने प्रतिवद्धता पनि जनाए । ‘हामीले खाद्यसहित अन्य सहयोग आवश्यक परेमा त्यसका लागि पनि तयार छौँ,’ उनले भने ।

उनले भूकम्पमा परेर ज्यान गुमाएका १५७ जनाप्रति भावपूर्ण  श्रद्धाञ्जली र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामनासहित सहयोगको हात बढाएको बताए । यसअघि भाटभटेनीले कोरोनाबाट आक्रान्त नेपालीको उपचारका लागि कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा एक करोड रुपैयाँ सहयोग गरेका थिए ।

त्यसबाहेक सातै वटा प्रदेश सरकारलाई पनि २५-२५ लाखका दरले सहयोग उपलब्ध गराएका थिए । त्यसअघि पनि मोरङ, सुनसरीलगायतका जिल्लामा गएको बाढीमा परेका नागरिकको लागि पनि सहयोग गरेको थियो ।