• जेष्ठ ८ २०८३, शुक्रबार

भुकम्पका कारण जाजरकोट र रुकुमका ठाउँ ठाउँका सडकहरुमा पहिरो

कार्तिक १८ २०८०, शनिबार

काठमाडौं । गएराति गएको भूकम्पले रुकुम र जाजरकोट सडकमार्गका विभिन्न सडकखण्डमा साना पहिरोहरु खसेका छन् । कतिपय सानो पहिरो पन्छाइसकिएको छ भने कति पहिरो हटाउने काम भइरहेको छ ।

सडक विभागका अनुसार जाजरकोटको रिम्नास्थित भेरी नदीको पुलको एप्रोच स्लाबमा क्षति भएको जानकारी आएको छ । रिम्ना नजिकै तीनवटा सुख्खा पहिरोले अवरुद्ध सडक खुलाउने काम भइरहेको सडक विभागले जनाएको छ । एउटा पहिरो हटाइसकेको र भेरी कोरिडरमा चाँडै यातायात खुल्ने सुपरिटेन्डेन्ट इन्जिनियर श्याम खडकाले जानकारी दिए ।

छेडा-जाजरकोट खण्डमा रहेको पहिरोहरु हटाउने काम भइरहेको र राप्ती राजमार्गमा खासै समस्या नरहेको सडक डिभिजन चौरजहारीका प्रमुख तेजस्वी शर्माले जानकारी दिए । उनका अनुसार खलंगा-पाँचकटिया खण्डमा भने पहिरो हटाउन अझै ४-५ घण्टा समय लाग्ने देखिएको छ ।