काठमाडौँ । नेपाली कांग्रेसका सांसद सञ्जय गौतम प्रतिनिधि सभा बैठकको शून्य समयमा मौन उभिएका छन् । सभामुखले बोल्न समय दिएपछि आसनबाट उभिएका उनले केही कुरा बोलेनन् ।
मौन रूपमा उभिएको देखेपछि सभामुख देवराज घिमिरेले ‘माननीय सदस्यलाई बोल्न समय दिइएको छ’ भने पनि उनले आफ्नो मौनधारण कायम राखे । सांसद गौतम मौन भई उभिइरहेपछि विभिन्न दलका केही सांसदहरूले आफू अगाडिको टेबल बजाएर समर्थन जनाएका थिए ।
उनको एक मिनेटको समय सकिएपछि सभामुख घिमिरेले सांसद हर्कमाया विश्वकर्मालाई बोल्न समय दिए । सांसद गौतमले किन शून्य समयमा आफू मौन उभिएको भन्नेबारे खुलाएका छैनन् ।