• फाल्गुन ३० २०८२, शनिबार

समानुपातिक निर्वाचन प्रणालीका नाममा शक्तिशालीको हालिमुहाली भयो : सभापति लामिछाने

कार्तिक १५ २०८०, बुधबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले समानुपातिक निर्वाचन प्रणालीमा निर्मम भएर समीक्षा गर्नुपर्ने बताएका छन् । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘समानुपातिक निर्वाचन प्रणालीमा शक्तिशालीको हालिमुहाली भयो,’ उनले भने,‘अहिले नाम उच्चारण गर्दिन । समानुपातिक निर्वाचनमा भएका नामहरु आयोगलाई उपलब्ध गराइदिउँला । अब यसको निर्मम समीक्षा गर्नुपर्छ ।’

उनले जनजाति र महिलाका नाममा समानुपातिक प्रणालीबाट आएकाको अवस्था पनि त्यस्तै रहेको बताए । ‘जनजातिका नाममा ब्रान्डेड लुगा लगाएर आउने पछिल्लो सिटमा बस्ने, नीति निर्माणमा मनमनै योगदान दिनुभएको छ होला,’ उनको भनाई थियो,‘महिलाहरुको हकमा पनि त्यही हो । शक्तिशाली राजनीतिक दलका परिवारका सदस्य महिलाका नाममा आएका छन् ।’

पटक पटक मन्त्री भएका नेता पनि यही प्रणालीबाट सांसद भएको भन्दै यसले गर्दा संविधानको ठाडो उल्लंघन भएको बताए । उनले बदर मत घटाउने विषयमा निर्वाचन शिक्षा नपुगेको र बजेटमात्रै खर्च भएको बताए । ‘निर्वाचन आयोगले बदर मत एक प्रतिशतमा झार्न किन सकेन ? बदर मत घटाउने गरी गरिएको खर्चको अर्थ के भयो ?,’ उनले भने ।

उनले मृत्यु भइसकेका व्यक्तिका नाममा पनि मत खस्दा विदेशमा बस्ने नागरिकले मतदान गर्न नपाएको बताए । ‘परलोक भइसकेका मान्छेको नाममा मत खसेको छ,’ उनको प्रश्न थियो,‘भोट लिन हामी माथि गएका हौँ कि तल आएर उनीहरुले भोट हालेका हुन् ?’ ‘परलोक भएका व्यक्तिले भोट हाल्न पाउँदा विदेश रहेका नेपालीले भोट हाल्न नपाउने ?’ उनको प्रश्न थियो ।