• फाल्गुन ३० २०८२, शनिबार

ओलीप्रति इंगित गर्दै दाहालले भने,‘केही साथीले महासचिव गुटेरेसलाई गलत ब्रिफिङ गरे’

कार्तिक १४ २०८०, मंगलवार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्व समुदायको ध्यान आकर्षित गर्नुपर्नेमा केही नेताहरूले संयुक्त राष्ट्र संघका महासचिवलाई गलत ब्रिफिङ गरेको भन्दै आपत्ति जनाएका छन् ।

प्रधानमन्त्री दाहालले एमाले अध्यक्ष केपी ओलीप्रति इंगित गर्दै शान्ति प्रक्रिया टुंग्याउनेबारे गलत ब्रिफिङ गरेको आशय व्यक्त गरेका हुन् ।

उनले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले शान्ति प्रक्रियाबारे राम्रा धारणा व्यक्त गर्दैगर्दा ओलीले विभाजित रहेको सन्देश दिएको आरोप लगाए ।

‘संयुक्त राष्ट्रसंघका महासचिवको यस्तो राम्रो धारणा छ । तर दुर्भाग्य हाम्रै केही साथीहरूले यस्तो बेला विभाजित मत देखाए । त्यो भने दुर्भाग्यपूर्ण  छ,’ संसद भवनमा प्रधानमन्त्रीले सञ्चारकर्मीसँग भने ।

उनले महासचिव गुटेरेसले नेपालको हितमा धारणा राखेको बताए । महासचिव गुटेरेसले दीगो विकासको लक्ष्य हासिल गर्न चाहिने अनुदान रकम नेपाललाई प्रदान गर्नुपर्ने वक्तव्य प्रशंसनीय रहेको प्रधानमन्त्रीको भनाइ छ ।

‘नेपालको समग्र हितमा संयुक्त राष्ट्रसंघका महासचिवले बोल्नसक्ने म्याक्सिमम सीमामा उहाँले बोल्नुभयो । यो नेपाल र नेपालीका निम्ति एकदमै खुसी र गर्वको कुरा हो । नेपाल संसारका सबै मुलुकका मित्र छन् । सबैले मित्रको रूपमा माया गर्नुपर्छ । पर्यावरण र गरिबी निवारण सम्बन्धी सबै फन्डहरू नेपाललाई दिनुपर्ने भनिएको छ । दुनियाँले ध्यान दिनुपर्छ । यो भन्दा ठूलो कुरा केही हुन सक्दैन,’ उनले भने । उनले शान्ति प्रक्रियामा विश्व समुदायको सहयोग रहने कुरामा आफू विश्वस्त रहेको बताए ।

गत आइतबार महासचिव गुटेरेससँगको भेटमा अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालकै कारणले शान्ति प्रक्रिया टुंगोमा पुग्न नसकेको ब्रिफिङ गरेका थिए ।