काठमाडौँ । गैरआवासीय नेपाली संघको आधिकारिकताका लागि प्रयास गरिरहेका अध्यक्ष आरके शर्माले संघको नाममा रहेका विभिन्न बैंकको खाता रोक्काका लागि निवेदन दिएका छन् ।
११औँ महाधिवेशनअघि कोषाध्यक्षको भूमिकामा रहेका लोक दाहाल र सुनिल साहमार्फत् शर्माले विभिन्न बैंकमा रहेका १८ वटा खाता बन्द गर्न निवेदन दिएका हुन् । ती बैंकहरुमा पत्राचार भएको छ भने यसबारे परराष्ट्र र संघका प्रमुख कार्यकारी अधिकारी अधिकृत (सीईओ) राजेन्द्रकुमार राउतलाई पनि जानकारी गराइएको महासचिव बुद्धि सुवेदीले जानकारी दिए । ‘बैंकहरुलाई पत्राचारका साथै आइतबार सीईओलाई पनि तत्काल खाता सञ्चालन नगर्न भनेर हामीले मौखिक रुपमा समेत भनेका छौँ’, उनले भने ।
आइतबार अध्यक्ष शर्मासहितका पदाधिकारीहरु नियमित कार्य सञ्चालनका लागि भन्दै बालुवाटारस्थित संघको कार्यालयमा पुगेका थिए । तर, अध्यक्षको कोठा बन्द गरिएका कारण शर्माले प्रवेश पाएका थिएनन् । त्यसपछि उनले सीईओसहितका कर्मचारीहरुसँग छलफल गरेका थिए ।
सो क्रममा शर्माले संघको नाममा रहेका कुनैपनि बैंक खाताबाट तत्काल आर्थिक कारोबार नगर्न र कार्यालयको साँचो जिम्मा लगाउन आग्रका सीईओलाई आग्रह गरेका थिए । तर, सो क्रममा राउतले संघको सम्पूर्ण तालाचाबी डा. बद्री केसीसँग रहेको जानकारी गराएका थिए ।