काठमाडौँ । नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले संक्रमणकालिन न्यायको विषयलाई टुंग्याउन ढिला गर्नु नहुने बताएका छन् ।
शनिवार काँग्रेस पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले संक्रमणकालिन न्यायसँग सम्बन्धित विषयलाई टुंग्याउन ढिला गर्नु नहुने बताएका हुन् । उनले युद्धलाई टुंग्याएर शान्ति प्रक्रिया प्रारम्भ गरेको रफ्तारमै बाँकी कामहरु हुनुपर्ने भएपनि त्यसो हुन नसकेको जिकिर गरे ।
उनले भने, ‘वास्तवमा धेरै ढिलो भयो । जसरी हामीले एकदम छोटो समयमा युद्धलाई टुंग्याउने र शान्तिको प्रक्रियामा या राजनीतिक मुल प्रवाहमा ल्याउने काममा हामी सफल भएका थियौँ । त्यसैगरी त्यससँग जोडिएका जम्मै विषयवस्तुहरु, द्वन्द्व व्यवस्थापनका सम्पूणर् विषयवस्तुहरु, संक्रमणकालीन न्यायसँग जोडिएका सबै विषयवस्तुहरुलाई छिटो टुंग्याउनु पर्दथ्यो । त्यसमा ढिलाइ भएको छ । अब धेरै ढिला गर्नु हुँदैन । संयुक्त राष्ट्रसंघको महासचिव आउनु भएको यो बेलामा हामीले सकारात्मक सन्देश दिएर पठाउनुपर्छ ।’