दाङ । एमाले महासचिव शंकर पोखरेलले एमालेका लागि सरकार प्राथमिकता नभएको बताएका छन् । प्रेस चौतारी दाङले शनिबार तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले कोशीमा कांग्रेसका आठ सांसदले एमालेको सहयोग माग गरेपछि आफूहरुले समर्थन गरेको बताए ।
‘संविधानको धारा १६८ को उपधारा ५ को सरकार भएपछि विगतमा सर्वोच्च अदालतले गरेको व्याख्या अन्तर्गत एक प्रकारकोे निर्दलीय सरकार जस्तो बन्न पुग्या छ । वास्तवमा लोकतन्त्रमा त्यो उचित होइन तर, संविधानले व्याख्या गरिसकेपछि त्यो आफैमा शासकीय अभ्यास भयो’, उनले भने ‘त्यस अर्थमा नेपाली काँग्रेसका ८ जना सांसदले आफूलाई उपधारा ५ को अभ्यास अन्तर्गत अगाडी बढ्न तयार भएको र एमालेको सहयोग खोज्न आइपुगेपछि हामीले सहयोग गरेको हो ।’ पोखरेलले आधारभूत विश्वव्यापी मान्यताअनुरुप नै शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउनुपर्ने बताए ।
बेपत्ता पारिएका ब्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग २०७९ लाई टुंग्याउनका लागि विश्वब्यापी मान्यता अनुरुप हुनुपर्ने उनको भनाई थियो । ‘त्यसका आफ्ना नम्स छन्, त्यो नम्सभित्र रहेर उहाँहरु अगाडी बढ्न खोजे एमालेको साथ रहन्छ’, उनले भने, ‘गम्भीर प्रकारका मानवता विरोधी अपराधको पैरवी गरेमा एमालेको साथ रहँदैन ।’
केही विषयमा सत्य निरुपणले गर्ने, सामान्य विषयलाई मेलमिलाप गराउने र गम्भीर विषयलाई अदालतमा मुद्दा चलाउने कुरामा एमालेको समर्थन रहने महासचिव पोख्रेलले प्रष्ट पारे । तर, गम्भीर अपराधलाई उन्मुक्ति दिने कुरामा एमाले सहमत नहुने उनको भनाइ छ ।