नयाँदिल्ली । भारत उत्तर प्रदेशको मुरादाबासमा एक भिडियो भाइरल बनेको छ, जसमा एक युट्युबर प्रहरीको बर्दी लगाएर ‘बडी शो’ गरिरहेका छन् । उनी बाउन्सरसँगै प्रहरी निरीक्षक बनेर घुम्छन् । साथै युट्युबमा भिडियो अपलोड गर्छन् ।
उनका धेरै भिडियो सोसल मिडियामा भाइरल भएका छन् । एफआईआर दर्ता भएलगत्तै उनी फरार छन् । प्रहरीले उनलाई पक्राउ गर्ने कोसिस गरिरहेको भारतीय मिडियाले लेखेका छन् ।
भारतीय टीभी च्यानल आजतकका अनुसार, आरोपी अब्दुल्ला पठानको एक भिडियो प्रहरीले फेला पारेको छ, जसमा उनी प्रहरी निरीक्षक बनेर घुमिरहेका छन् । यसपछि उनीविरुद्ध मुद्दा दर्ता गरिएको छ । अब्दुल्ला पठानको आफ्नै युट्युब च्यानल छ, जसमा उनी भिडियोहरू अपलोड गर्ने गर्छन् । उक्त च्यानलमा १० लाखभन्दा बढी सब्स्क्राइबर छन् । अब्दुल्लाको एक भिडियो सबैभन्दा बढी भाइरल बनेको छ, जसमा उनी प्रहरीको बर्दीमा नरिबल फोड्दै गरेको देखिन्छन् ।
चर्चित युट्युबर बनेपछि अब्दुल्लाले जिल्लामा एक क्लिनिक पनि खोलेका छन् । सम्बन्धित निकायको अनुमतिबिना नै खोलिएको क्लिनिकबाट मानिसहरूलाई औषधि दिने गरिएको थियो । सोसल मिडियामा यसबारे जानकारी बाहिरिएपछि स्वास्थ्य विभागका अधिकारीले थाहा पाएर क्लिनिकमा छापा मारेका थिए । यस क्रममा स्वास्थ्य विभागको टिमले ३६ औषधिको नमूना लिएर परीक्षणका लागि प्रयोगशाला पठाएका थिए ।