काठमाडौं । अपाङ्गता भएका आदिवासी जनजाति महिला तथा बालिकाका सवाललाई मूलधारका सञ्चार माध्यममा प्रभावकारी रूपमा समावेश गर्दै मूलप्रवाहीकरण गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्।

राष्ट्रिय आदिवासी जनजाति अपाङ महिला संघ–नेपाल (निडवान) र क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे)को संयुक्त आयोजनामा मंगलबार काठमाडौंमा सम्पन्न ‘मूलधारका सञ्चार माध्यममा अपाङ्गता भएका आदिवासी जनजाति महिला तथा बालिकाको आवाजलाई मूलप्रवाहीकरण गर्न पत्रकार महिलाको भूमिका’ विषयक अन्तरसंवाद कार्यक्रममा सहभागीहरूले समावेशी सञ्चार अभ्यासलाई संस्थागत गर्नुपर्ने आवश्यकता औँल्याए।

निडवानकी अध्यक्ष डा. प्रतिमा गुरुङले लैङ्गिकता, अपाङ्गता र आदिवासी जनजाति समुदायका मुद्दालाई अधिकारमुखी र समावेशी दृष्टिकोणबाट सञ्चार माध्यममा प्रस्तुत गर्नु आजको आवश्यकता भएको बताइन्। उनले समाचारमा प्रयोग हुने भाषा, शब्दावली र तस्बिरसम्म सम्मानजनक, संवेदनशील तथा अपाङ्गतामैत्री हुनुपर्नेमा जोड दिइन्।

डब्लुडब्लुजेकी अध्यक्ष रामकला खड्काले सञ्चार संस्थाहरूले जनशक्ति र नेतृत्व तहमा सबै वर्ग तथा समुदायको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने बताउँदै सीमान्तकृत समुदायका मुद्दालाई समाचारको प्राथमिकतामा राख्न आग्रह गरिन्। उनले प्रत्येक सञ्चार संस्थाले समावेशी सञ्चार निर्देशिका बनाई कार्यान्वयन गर्नुपर्ने धारणा पनि राखिन्।

निडवानका प्राविधिक सल्लाहकार कृष्ण गहतराजले अपाङ्गता भएका व्यक्तिको समाचारमा उनीहरूकै अनुभव र आवाजलाई प्राथमिकता दिनुपर्ने बताए। विशेषगरी अपाङ्गता भएका आदिवासी जनजाति महिलालाई पत्रकारितामा प्रवेशका अवसर सिर्जना गर्न आवश्यक रहेको उल्लेख गर्दै उनले सूचना तथा सञ्चार सामग्री सबै प्रकारका अपाङ्गता भएका व्यक्तिको पहुँचमा पुग्ने गरी उत्पादन गर्नुपर्नेमा जोड दिए। अपाङ्गताको विषयलाई दयाभावका आधारमा होइन, अधिकार र अन्तरसम्बन्धीय दृष्टिकोणबाट प्रस्तुत गर्न उनले सञ्चार माध्यमलाई आग्रह गरे।

कार्यक्रममा विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारहरूले अपाङ्गता भएका आदिवासी जनजाति महिलासम्बन्धी समाचार तयार गर्दा अपनाइने संवेदनशील अभ्यासबारे अनुभव आदानप्रदान गरेका थिए। उनीहरूले समाचार तयार गर्दा समावेशी भाषा प्रयोग गरे पनि सम्पादनका क्रममा कतिपय सामग्रीको मूल मर्म कमजोर हुने गरेको गुनासो गर्दै सम्पादकहरूका लागि पनि समावेशी सञ्चारसम्बन्धी अभिमुखीकरण आवश्यक रहेको बताए।

निडवानले लामो समयदेखि अपाङ्गता भएका आदिवासी जनजाति महिला, लैङ्गिक समानता तथा अन्य सीमान्तकृत समुदायका मुद्दालाई राज्य र मूलधारका सञ्चार माध्यमसम्म प्रभावकारी रूपमा पुर्याउने उद्देश्यले पत्रकारसँग नियमित संवाद, छलफल, ज्ञान उत्पादन तथा क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। सोही अभियानअन्तर्गत डब्लुडब्लुजे, इन्डिजिनस टेलिभिजन, गोलखबर टिभी र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)सँगको सहकार्यमा विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएका छन्।
निडवानकी महासचिव श्रुती कुमालले सञ्चालन गरेको कार्यक्रममा विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकार महिलाले अपाङ्गता भएका आदिवासी जनजाति महिलाका विषयमा समाचार तयार पार्दाका अनुभव साझा गरेका थिए। अन्तरसंवाद कार्यक्रममा विभिन्न सञ्चार संस्थामा कार्यरत पत्रकारहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमको अन्तीममा निडवानका अध्यक्ष डा. प्रतिमा गुरुङले क्रियाशील पत्रकार महिला डब्लु डब्लु जेका अध्यक्ष रामकला खड्कालाई खादा लगाई मायाको चिनो प्रदान गरेकी थिइन् । Photo By Roman Buda Magar









