• असार २५ २०८३, बिहीबार

आदिवासी अपाङ्गता भएका महिलाको आवाज मूलधारका सञ्चारमाध्यममा स्थापित गर्न सञ्चारकर्मीको प्रतिबद्धता

असार २५ २०८३, बिहीबार

काठमाडौं । आदिवासी अपाङ्गता भएका महिला तथा बालिकाहरूको आवाजलाई मूलधारका सञ्चारमाध्यममा सशक्त रूपमा स्थापित गर्ने उद्देश्यसहित एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

राष्ट्रिय आदिवासी जनजाति अपाङ महिला संघ–नेपाल (निडवान) ले सामुदायिक रेडियो प्रसारक सङ्घ नेपाल (अकोराब) सँगको सहकार्य तथा इन्डिजिनस टेलिभिजन र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को साझेदारीमा ‘मूलधारका सञ्चारमाध्यममा आदिवासी अपाङ्गता भएका महिलाहरूको आवाजलाई मूलप्रवाहीकरण गर्न सञ्चारमाध्यमको भूमिका’ विषयक अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरेको हो।

कार्यक्रममा सामुदायिक रेडियो प्रसारक सङ्घ नेपालकी कार्यक्रम सहयोगी दिलसा नेपालले सामुदायिक सञ्चारमाध्यमले सीमान्तकृत समुदायका आवाजलाई प्राथमिकता दिँदै समावेशी सञ्चार अभ्यासलाई प्रवर्द्धन गर्न सक्ने भूमिका र अवसरबारे प्रस्तुति दिइन्।

त्यसैगरी, निडवानकी अध्यक्ष डा.प्रतिमा गुरुङले आदिवासी अपाङ्गता भएका महिला तथा बालिकाका आवाज, अनुभव र मुद्दाहरूलाई सम्मानजनक, अधिकारमुखी तथा समावेशी ढङ्गले मूलधारका सञ्चारमाध्यममा स्थान दिनुपर्ने आवश्यकता औँल्याइन्।

कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले अपाङ्गता–समावेशी सञ्चार अभ्यास, अनुभव तथा सिकाइ आदानप्रदान गर्दै समावेशी सञ्चार प्रवर्द्धनका लागि सञ्चारमाध्यम र सरोकारवाला संस्थाबीचको सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे।

उक्त कार्यक्रममा ३५ भन्दा बढी सञ्चारकर्मीको सहभागिता रहेको थियो भने कार्यक्रमले अपाङ्गता भएका महिला तथा बालिकाहरूका आवाजलाई मूलधारका सञ्चारमाध्यममा अझ प्रभावकारी रूपमा स्थापित गर्न साझा सहकार्य, संवाद र प्रतिबद्धतालाई थप मजबुत बनाएको आयोजक संस्था निडवानले जनाएको छ।