• असार २५ २०८३, बिहीबार

गोर्खा नागरिकता अभियानका लागि १२ जुलाईमा बृहत् जुम बैठक, सहभागी हुन (CNCBG) सिएनसिबिजिको आह्वान

असार २५ २०८३, बिहीबार

लन्डन। ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरता अभियान सिएनसिबिजि (CNCBG) ले आउँदो १२ जुलाई २०२६ (आइतबार) बेलायतमा रहेका विभिन्न गोर्खा संघ–संस्था, अभियन्ता, बुद्धिजीवी तथा सरोकारवालालाई बृहत् जुम बैठकमा सहभागी हुन आह्वान गरेको छ।

अभियानले गोर्खा भर्तीका कारण बेलायतमा बसोबास गर्न पुगेका हजारौं सेवारत तथा भूतपूर्व गोर्खा सैनिक, उनीहरूका सन्तति तथा भावी पुस्ताले वंशजका आधारमा नेपालको नागरिकता निरन्तर कायम राख्न पाउनुपर्ने, नेपाल आवतजावत गर्न कुनै कानुनी अवरोध नहुनुपर्ने तथा उनीहरूका नागरिक अधिकार कुनै पनि रूपमा कटौती गर्न नहुने माग गर्दै लामो समयदेखि अभियान सञ्चालन गर्दै आएको जनाएको छ।

सिएनसिबिजि (CNCBG)  का अनुसार १२:३० बजेदेखि ३:०० बजेसम्म सञ्चालन हुने उक्त जुम बैठकमा विभिन्न गोर्खाजन्य संघ–संस्थाका अध्यक्ष, प्रतिनिधि तथा बुद्धिजीवीहरूको सहभागिता रहनेछ।

बैठकमा (CNCBG)  ले हालै नेपाल सरकारलाई पठाएको संविधान संशोधनसम्बन्धी सुझाव, नेपाली नागरिकता ऐन, २०६३ संशोधन सम्बन्धी अभियान तथा आवश्यक विशेष कानुन र नियममार्फत माग सम्बोधन गराउने विषयमा छलफल हुनेछ। साथै, नेपाल सरकारसँग औपचारिक वार्ता गर्न गोर्खा समुदायको प्रतिनिधिमण्डल गठन गर्ने र उक्त प्रतिनिधिमण्डलमार्फत नेपालमा दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने विषय पनि बैठकको मुख्य एजेन्डा रहने अभियानले जनाएको छ।

(CNCBG) ले सबै गोर्खाजन्य संघ–संस्था, अभियन्ता, समर्थक तथा शुभेच्छुकलाई उक्त बृहत् जुम बैठकमा अनिवार्य रूपमा सहभागी भई अभियानलाई थप सशक्त बनाउन सहयोग गर्न आग्रह गरेको छ।

जेठ १४, २०८३ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा संविधान संशोधनसम्बन्धी सुझाव बुझाउँदै अधिवक्ता चेत आले, (CNCBG) नेपाल च्याप्टरका अध्यक्ष हुमबहादुर थापा तथा कार्यालय सचिव पूर्णबहादुर राना।

 वैशाख ९, २०८३ मा राष्ट्रपति भवन, शीतल निवास, महाराजगञ्ज, काठमाडौंमा सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेललाई नागरिकता निरन्तरताको मागसहित संविधान संशोधनसम्बन्धी सुझावपत्र बुझाउँदै सिएनसिबिजिका (CNCBG) अध्यक्ष थर्क राना सहितको प्रतिनिधिमण्डल र पत्रकार दीपा आले।

वैशाख २, २०८३ मा गृह मन्त्रालयमा माननीय गृहमन्त्री सुधन गुरुङलाई नागरिकता निरन्तरतासम्बन्धी संविधान संशोधनको सुझावपत्र बुझाउँदै (CNCBG) सिएनसिबिजिका अध्यक्ष थर्क राना सहितको प्रतिनिधिमण्डल।