कास्की । वरिष्ठ कलाकार प्रकाश घिमिरे अहिले पोखराको मणिपाल शिक्षण अस्पतालको सघन उपचार कक्ष (आइसियु) मा उपचाररत छन् । शरीरमा लागेको चोटको पीडा सहन उनलाई गाह्रो भइरहेको आफन्तले बताएका छन् ।
घिमिरेका भाइ सढंग घिमिरेका अनुसार अर्धचेत अवस्थामा रहेका प्रकाशले बेलाबेला आवाज त निकाल्छन्, तर दोहोरो कुराकानी गर्न सक्दैनन् । ‘कहिलेकाहीँ ऐया, दुख्यो भनेर आवाज निकाल्नुहुन्छ तर दोहोरो कुराकानी गर्नसक्ने अवस्था छैन,’ सढंगले भने, ‘शरीरमा लागेको चोटको दुखाइले असह्य भएको जस्तो देखिन्छ ।’
पोखरा-३ नदिपुरका स्थायी बासिन्दा प्रकाश शुक्रबार सबेरै साथी प्रेम शेरचन र गायक विनोद बानियासँग मर्निङ वाकमा गएका थिए । फर्किंदा गाईलाई कृत्रिम गर्भाधान गराउन भेटिरनरी डाक्टर बोलाएको बताएका थिए ।
‘मर्निङ वाकबाट फर्किंदा प्रकाशको घरमा डाक्टर आइसकेका रहेछन् । फोन आएपछि उहाँ घर लाग्नुभयो,’ शेरचनले भने,‘गोठको काम सकेर घाँस काट्न हाम्रो घर आउनुभयो ।’ शेरचनको घर नजिकै पुगेर प्रकाश घाँस काट्न थाले । प्रकाश आउनुअघि नै शेरचनले केही डाली घाँस काटिसकेका थिए । आफ्नो घर नजिकै ब्लकको पर्खालमा समातेर घाँस काट्दै गर्दा प्रकाश लड्न पुगेको शेरचनले बताए ।
‘पर्खालमा खाली ठाउँ भर्न मात्र ब्लक लगाएको रहेछ । त्यही ब्लकमा बायाँ हातले समातेर दायाँ हातले घाँस काट्दै गर्दा पर्खाल भत्किएर उहाँ लड्नुभएछ,’ शेरचनले भने ।
शेरचनका अनुसार पहराबाट प्रकाश करिब ५० मिटर तल झाडीमा खसेका थिए । त्यतिबेला शेरचन कुखुरालाई दाना बनाउँदै थिए । प्रकाश खसेको थाहा पाउनेबित्तिकै उद्धार गरेर मणिपाल अस्पताल पुर्याएको शेरचनले बताए ।
अस्पतालका अनुसार प्रकाशको टाउकोमा चोट लागेको छ । छातीको करङ भाँचिएर फोक्सोमा छोएको छ । ढाडमा पनि चोट लागेको छ । उनलाई थप उपचार गर्न शनिबार काठमाडौं लैजाने तयारी गरिएको परिवारले जनाएको छ । नाटकबाट अभिनय यात्रा थालेका प्रकाशले हालसम्म तीन दर्जनभन्दा बढी नाटकमा अभिनय गरिसकेका छन् । २०६१ सालतिर निर्देशक नवीन सुब्बा निर्देशित टेलिसिरियल ‘दलन’ मा अभिनय गरेर उनी फिल्मी क्षेत्र प्रवेश गरेका थिए ।
उनले ‘टलकजंग भर्सेस टुल्के’, ‘पशुपति प्रसाद’, ’फन्को’, ‘जात्रा’, ‘पञ्चेबाजा’, ‘पानीफोटो’ लगायत दर्जनौं फिल्ममा अभिनय गरेका छन् ।
प्रकाश अभिनीत चलचित्र ‘पशुपति प्रसाद २ भष्मे डन’ अहिले प्रदर्शनमा छ । नदिपुरकै कन्या माविमा ३७ वर्ष शिक्षण गरेका प्रकाश २०७५ सालमा अवकाश लिएपछि अभिनय क्षेत्रमा क्रियाशील भएका हुन् ।