गमगढी । मुगुमा एकै परिवारका चार जनाको शव फेला परेको छ । जिल्लाको छायाँनाथ रारा नगरपालिका–६ मुन्दुमा आमा र छोराछोरीको शव फेला परेको हो ।
मुगुका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापाका अनुसार २८ वर्षकी श्रीदेवी बोहोरा, उनका ११ वर्षका छोरा मनोज बोहोरा, अर्का १ वर्षका छोरा रहर बोहोरा र ७ वर्षकी छोरी अप्सरा बोहोरा मृत फेला परेका हुन् ।
उनीहरूको शव शुक्रबार फेला परेको प्रमुख जिल्ला अधिकारी थापाले बताए ।
‘आजै शव भेटिएको जानकारी आएको छ, घटना कहिलेको भन्ने अनुसन्धान हुन बाँकी छ,’ उनले भने ।
मुगुका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले उनीहरूको शव आफ्नै घरमा फेला परेको बताए । थप अनुसन्धान सुरू गरिएको डिएसपी थापाले जानकारी दिए ।