• जेष्ठ ८ २०८३, शुक्रबार

खानेपानी योजना तोडफोड भएपछि ३ सय बढि उपभोक्तालाई पानीको हाहाकार

कार्तिक ९ २०८०, बिहीबार

वीरेन्द्रनगर । साढे तीन सयभन्दा बढी उपभोक्ताहरूले प्रयोग गर्दै आएको दैलेख चामुण्डाविन्द्रासैनी नगरपालिका-४ को रोशनीडाडाँ-रुमालदेव-गडाखा लिफ्टिङ्ग खानेपानी योजना अज्ञात व्यक्तिद्वारा तोडफोड गरिएको छ ।

४ वर्षअघि कर्णाली प्रदेश सरकारले करिब ४० लाख बढी रकमबाट आयोजना निर्माण गरिएको थियो । उक्त योजना सम्पन्न भएपछि खानेपानीको लागि निकै काकाकुल बस्तीका जनताले निरन्तर पानी उपभोग गरिरहेका थिए । दसैँको अघिल्लो रात तोडफोड गरी आयोजनाको मुहानमा रहेको सोलार सिस्टमलाई नष्ट गरिएको छ । साथै इन्भर्टर समेत लगिएको स्थानीयले बताएका छन्।

संरचना तोडफोड हुँदा अहिले पूणर्रूपमा नागरिकहरूमा खानेपानीको हाहाकार भएको स्थानीय कौशिला शाहीले जानकारी दिइन् । ‘पानी बन्द हुँदा हामीलाई निकै समस्या भयो, उनले भनिन्, ‘अहिले एक घण्टाको पैदल हिँडेर पुरानो मुहानमा पानी ल्याउन जानुपर्छ ।’

नगरपालिकाका मेयर गणेशकुमार शाही, पूर्व उपमेयर तारा शाही खत्री,‌ वडा अध्यक्ष लगायत सरोकारवालाहरूको रोहबरमा मुचुल्का उठाएर प्रहरीले अनुसन्धान गरिरहेको छ । उक्त खानेपानीको उपभोक्ता छविलाल खत्रीले लिफ्टिङ खानेपानी योजनाको सोलार सिस्टम सुनियोजित तरिकाले तोडफोड गरिएको बताए ।