• मंसिर १३ २०८१, बिहीबार

दशैंमा करिब ५ सय मेगावाट विदयुत् खेर गयो

कार्तिक ९ २०८०, बिहीबार

काठमाडौं । दशैंमा देश भित्रको आन्तरिक विद्युत खपत घट्दा जलविद्युत आयोजनाहरुबाट उत्पादित करिब ५ सय मेगावाट विद्युत खेर गइरहेको छ। दशैंमा विद्युत बढी खपत गर्ने उद्योग कलकारखानाहरु बन्द हुँदा र काठमाडौंमा चिसो सुरु भइनसकेको तथा तराईमा गर्मी पनि सकिएकाले आन्तरिक रुपमा विद्युतको माग घटेको छ।

तर, बर्खा सकिएको र नदी तथा खोलानालाहरुमा सफा पानीको बहाव हुने हुँदा यो समयमा नेपाल विद्युत प्राधिकरण, यसका सहायक कम्पनीहरु र निजी क्षेत्रका स्वामित्वका जलविद्युत आयोजनाहरुबाट विनाअवरोध विद्युत उत्पादन हुने गरेको छ।

प्राधिकरण, यसका सहायक कम्पनीहरु र निजी क्षेत्र क्षेत्रका जलविद्युत आयोजनाहरुबाट हाल दैनिक रुपमा करिब २ हजार २ सय मेगावाट विद्युत उत्पादन भइरहेको छ। त्यसमध्ये करिब १ हजार मेगावाट देशभित्र खपत भइरहेको भने करिब साढे ६ सय देखि ७ सय मेगावाटसम्म विद्युत भारततर्फ निर्यात भइरहेको छ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उत्पादित विद्युत देशभित्र खपत गर्न नसक्दा र थप निर्यातका लागि भारतबाट स्वीकृति पाउन नसक्दा अहिले दैनिक रुपमा ५ सय मेगावाटको हाराहारीमा विद्युत खेर फाल्नुपर्ने बाध्यात्मक अवस्था उत्पन्न भएको बताए।