जोमसोम । उपल्लो मुस्ताङको लोमान्थाङ–५ मा आइतबार राती वडाध्यक्ष ढुक्के बिष्टको सरकारी मोटरसाइकल अज्ञात समूहले तोडफोड गरिदिएको छ । वडाध्यक्ष बिष्टको घर बाहिर आँगनमा पार्किङ गरी राखिएको ग१ब१०५४ नम्बरको माटरसाइकल अज्ञात समूहले तोडफोड गरेको हो ।
मोटरसाइकलको पेट्रोल ट्यांकीमा दुईवटा प्वाल पारिदिएको छ भने मोटरसाइकलको सिटकभर समेत च्यातेर क्षति बनाइएको छ । मोटरसाइकल क्षति गरेपछि वडाध्यक्ष बिष्टले इलाका प्रहरी कार्यालय लोमान्थाङमा लिखित उजुरी दर्ता गरेका छन् ।
यता जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरीक्षक डीएसपी भोजराज पाण्डेले लोमान्थाङ ५ मा सरकारी मोटरसाइकलमाथि तोडफोडबाट क्षति पुगेको जानकारी दिए ।
उनका अनुसार लोमान्थाङमा घटना अघि लोमान्थाङ ५ का आमा समूह र जनप्रतिनिधिबीच लोमान्थाङको भित्री सडकको आन्तरिक विषयमा दुई पक्षीयबीच विवाद भएको र घटना पनि सोही विषयसँग जोडिएको हुनसक्ने बताए ।
उनले इलाका प्रहरी कार्यालयको सीसी क्यामेराबाट तोडफोड गर्ने अज्ञात समूह पत्ता लगाउने कार्य र घटनाबारे अनुसन्धान भइरहेको उल्लेख गरे । घटनाअघि लोमान्थाङ आमा समूह र जनप्रतिनिधिबीच बाटोको विषयमा वार्ता भएपनि वार्ता सफल हुन सकेको थिएन ।