काठमाडौं । इजरायलमा प्यालेस्टिनी हमासको आक्रमणमा परी मृत्यु भएका १० मध्ये पहिलो चरणमा ४ नेपाली विद्यार्थीहरुको शव नेपाल ल्याइएको छ । पहिलो चरणमा आज बिहान दीपेशराज विष्ट र लोकेन्द्रसिंह धामीको शव काठमाडौं ल्याइएको छ ।
शव नेपाली सेनाको ब्यारेकमा लगिएको छ । परराष्ट्र मन्त्री एनपी साउद, नेपालका लागि इजरायलका राजदूत पनि नेपाली सेनाको ब्यारेकमा पुगेका छन् । उनीहरूले श्रद्धाञ्जली अर्पण गरेका छन् । पहिलो चरणमा विष्ट र धामी सहित नारायणप्रसाद न्यौपाने र आशिष चौधरीको शव नेपाल पठाइएको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ । केही शव दिउँसो आइपुग्ने छ । अन्य ६ जना नेपालीको शव पठाउने प्रक्रिया पूरा गर्न भने केही दिन लाग्ने दूतावासले जनाएको छ ।
कृषि विषय पढ्दै कमाउँदै गर्न इजरायलमा पुगेका नेपाली विद्यार्थीहरु गत असोज २० गते हमासले गरेको आक्रमणमा परेका थिए । आक्रमणमा १० जना नेपालीको मृत्यु भएको पुष्टि भए पनि एक जना विपिन जोशीको अवस्था भने अझै अज्ञात छ । उनको खोजी भइरहेको दूतावासले जनाएको छ ।
युद्ध तत्काल रोकिने स्थिति नदेखिएपछि सरकारले इजरायलमा रहेका नेपालीहरुलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको थियो । पहिलोपटक नेपाल एयरलाइन्सको हवाई जहाज पठाएर २५४ जना नेपालीहरुलाई स्वदेश ल्याइएको थियो भने १८ जना नेपालीहरु भारतको उद्धार उडान मार्फत् आएका थिए ।
नेपाल फर्किन चाहनेहरुका लागि इजरायलको तेलअविवस्थित नेपाली दूतावासले अनलाइन रजिष्ट्रेसन गर्दै आएको छ । अनलाइनमा थप १४० जना नेपालीहरुले स्वदेश फर्किने इच्छासहित आफ्नो विवरण इन्ट्री गराएको र तीमध्ये सात जना मात्रै तत्कालै नेपाल फर्किन इच्छुक रहेको दूतावासले जनाएको छ ।