• फाल्गुन ३० २०८२, शनिबार

बीआरआईमार्फत् विश्वजगतसँग जोडिन पाएकोमा नेपालले गर्व गर्नुपर्छ : झलनाथ खनाल

कार्तिक २ २०८०, बिहीबार

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले बीआरआई मार्फत् विश्वजगतसँग जोडिन पाएकोमा नेपालले गर्व महसुस गरेको बताएका छन् ।

चीनले आयोजना गरेको बीआरएफ फोरमलाई सम्बोधन गर्दै उनले सो परियोजनामार्फत नेपाल र चीन सरकार बीचको औपचारिक सम्बन्धको परिचय दिएको समेत बताए । उनले भने, ‘यो ऐतिहासिक पहलकदमीले नेपाल र चीन सरकार र दुई देशका जनताहरू बीचको औपचारिक सम्बन्धको परिचय दिएको छ ।’

पूर्वप्रधानमन्त्री समेत रहेका खनालले समस्त दक्षिणको उदय र बीआरआईको विश्वव्यापि विस्तारले विभिन्न राष्ट्र, देश र जनताहरूबीचको नयाँ शान्तिपूणर् सम्बन्ध, साथै विश्वमा रहेका विभिन्न सभ्यताहरूको सहअस्तित्व, सहकार्य र रूपान्तरणको सुरुवात समेत गरेको बताए । उनले बीआरआईको निरन्तर विकास र विश्वव्यापी विस्तारलाई कसैले पनि रोक्न नसक्ने बताए । खनालले भने, ‘केही पश्चिमा साम्राज्यवादी र आधिपत्यवादी शक्तिहरू आज पनि बीआरआईको विकास र विस्तारको विरोध गर्न चाहन्छन् । तर विश्वको कुनै पनि शक्तिले बीआरआईको निरन्तर विकास र विश्वव्यापी विस्तारलाई रोक्न सक्दैन ।’

बीआरआईको विश्वव्यापि विस्तारले विभिन्न राष्ट्र, देश र जनताहरूबीचको नयाँ शान्तिपूणर् सम्बन्ध, साथै विश्वमा रहेका विभिन्न सभ्यताहरूको सहअस्तित्व, सहकार्य र रूपान्तरणको सुरुवात समेत गरेको खनालको भनाइ छ । सो सम्मेलनमा भाग लिन खनाल नेतृत्वको टिम केही दिनअघि चीन भ्रमणमा निस्केको थियो ।

चीनको औपचारिक भ्रमण सकेर खनाल अक्टोबर २२ अर्थात् कात्तिक ५ मा नेपाल फर्कने छन् । नेता खनालसँगै रविलक्ष्मी चित्रकार र प्रा.डा. युवराज संग्रौला चीनको भ्रमण टोलीमा छन् ।