काठमाडौं । युद्ध ग्रस्त इजरायलमा रहेका धेरै नेपालीले स्वदेश फर्किन अस्वीकार गरेका छन् । इजरायलको तेल अबिबस्थित नेपाली राजदूतावासका अनुसार आक्रमणको सुरुवाती समयमा अनलाइन नाम दर्ता गराएका नेपालीहरू पुनः सम्पर्कमा आउन छाडेका छन् । दूतावासका प्रथम सचिव अर्जुन घिमिरेका अनुसार मंगलबार भारतले आफ्नो उद्धार विमानमा नेपालीका लागि २० वटा सिट उपलब्ध गराए पनि १८ जना मात्रै सम्पर्कमा आएका थिए ।
‘हामीलाई छिमेकी मुलुक भारतको उद्धार विमानमा दिइएको सिट पनि भर्न सकेनौं । हामीलाई २० वटा सिटको व्यवस्था भएको थियो । सबैलाई सूचना गर्दा पनि १८ जना मात्रै जान तयार हुनुभयो । यसले पनि नेपाल फर्किन चाहेका नागरिकहरूको मनस्थिति बदलिएको देखिन्छ’, प्रथम सचिव घिमिरेले भने । दूतावासले नेपाल फर्किन चाहनेहरुका लागि आवश्यक व्यवस्था गर्ने सार्वजनिक सूचना नै जारी गरेको छ । दूतावासले आक्रमण सुरु भएको तेस्रो दिनदेखि नेपाल फर्किन चाहनेको विवरण माग गरेको थियो ।
त्यसरी सूचना जारी गर्दा नाम दर्ता गराएका करिब चार सयभन्दा बढीमध्ये २५४ जना मात्रै पहिलो चरणको उद्धारमा नेपाल फर्किएका थिए । त्यसपछि मंगलबार थप १८ जनालाई भारतीय विमानको सहयोगमा दिल्ली हुँदै नेपाल ल्याइएको छ । पहिलो चरणमा नेपाल फर्किने २५४ जना सबै विद्यार्थी थिए भने यो चरणमा श्रमका लागि गएकाहरू बढी छन् । गएको ७ अक्टोबारबाट हमासले इजरायलको दक्षिणी क्षेत्रमा सुरु गरेको रकेट आक्रमणमा नेपालीहरू समेत परेका थिए ।