वीरगन्ज । भुक्तानी नपााएपछि पर्साको बहुदरमाई नगरपालिकाको मुख्य सडकमा जडान गरिएका सोलार बत्तीहरू ठेकेदारले खोलेर लागेका छन् । नगरपालिकाबाट भुक्तानी नपाएको भन्दै बुधबार दिउँसो बहुदरमाई नगरपालिका-४ स्थित मुख्य सडकमा जडान गरिएका सोलार बत्ती, ब्याट्री, प्यानललगायतका सामग्री ठेकेदारले खोलेर लागेका हुन् ।
पहिल्यैदेखि जडान गरिएका सोलार बत्तीहरू बिग्रिएपछि काठमाडौंस्थित एडभान्स सिनार्जी सोलुसन एन्ड ट्रेडिङ्ग प्रालिका सञ्चालक सुशील अधिकारीले मर्मत गरेका थिए । मर्मत गरेबापतको १३ लाख ५० हजार रुपैयाँ ६ महिना बित्दासमेत भुक्तानी नपाएपछि सडक छेउका पोलहरूमा जडान गरिएको सोलार बत्ती, ब्याट्री, प्यानल सबै खोलेर लगेको अधिकारीले बताए । उनका अनुसार ६ महिना पहिले बहुदरमाई नगरपालिकाकै मेयर सिंहासन साह तेलीको मौखिक आदेशमा एडभान्स सिनार्जी सोलुसन एन्ड ट्रेडिङ्ग प्रा.लिले बिग्रएका सोलार बत्तीहरू मर्मत गरेको थियो ।
अधिकारीले भने, ‘कागजी प्रक्रियापछि गर्दै गरौँला, जनताको दबाब छ, तपाईं अहिल्यै काम सुरु गर्नुस् भनेर मेयरबको मौखिक आदेशमा मैले साढे १३ लाख रुपैयाँ खर्च गरेर १० दिनभित्र सबै बत्तीहरू बनाइदिएको थिए तर अहिले ६ महिना बितिसक्यो भुक्तानी नै पाइएन । बाध्य भएर आजदेखि सामानहरू खोलेर लगेको हुँ ।’
अधिकारीका अनुसार उनले नगरपालिकाको विभिन्न वडामा गरी ६८ वटा सोलार बत्तीको कन्ट्रोलर परिवर्तन गरेका थिए भने ४८ वटा ब्याट्री फेरेका थिए । त्यस्तै २५ वटा नयाँ बत्ती जडान गर्नुका साथै ६ वटा प्यानल पनि फेरेको अधिकारीले बतााए । अधिकारीले भने, ‘१५ लाख जति खर्च लाग्ने भए पनि मैले साढे १३ लाखमै काम सकाए । भुक्तानीको लागि ६ महिना धाएपछि अहिले आएर मेयर र प्रमुख प्रशासकीय अधिकृतले भुक्तानी दिन मिल्दैन, बरु तपाईँ आफ्नो सामान खोलेर लाग्नुस् भनेपछि खोलेर लगेको हुँ ।’
नगरपालिकाले समयमा भुक्तानी नदिँदा आफूलाई पाँच लाख रुपैयाँ घाटा लागेको दुखेसो पनि उनले सुनाए । उनले भने, ‘वास्तवमा भन्नुपर्दा गल्ती मेरै होजस्तो लाग्दैछ । मौखिक आदेशको भरमा मैले पनि काम नगर्नुपर्ने थियो । तर मेयरजस्तो मान्छेले भनेपछि भुक्तानी पाइएला नि भन्ने मेरो सोच अहिले गलत सावित भएछ, घाटा व्यहोर्नुपर्यो ।’ सुरुमा मेयर तेलीले संघीय सरकारले बजेट कटौति गरेको भन्दै अर्को आर्थिक वर्षमा भुक्तानी हुन्छ भनेर आश्वासनसमेत दिएकका थिए । ‘म उहाँको भनाई अनुसार अर्को आर्थिक वर्षको लागि कुरेर बसें । अहिले नगरपरिषद् सकेर खातासमेत सञ्चालनमा आएपछि कार्यादेश बिना काम किन गर्यौं । भुक्तानी गर्न मिल्दैन भनेर कुरा फेर्न थालेका छन्,’ उनले थपे ।
बहुदरमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहम्मद शेरे मुस्तफाले भने कार्यादेश बिना नै काम गरेको कारण भुक्तानी दिन नमिलेको बताए । प्रकृया नै पूरा नगरी भएको कामको भुक्तानी गर्न नमिल्ने बताउँदै उनले भने, ‘कसैको मौखिक आदेशमा काम गर्न मिल्दैन । सार्वजनिक खरिद ऐन अनुसार प्रक्रिया पूरा नभएको कुनै कामको भुक्तानी गर्ने मेरो अधिकार छैन ।’